राजविराज । भारतमा हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीसँग जोडिएका सीमा सिल गरिएको छ । भारतको बिहार राज्य अन्तर्गत केहि जिल्लामा २५ बैशाखमा लोकसभाको निर्वाचन हुँदैछ ।
सोही निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीसँग सीमा जोडिएका मधुवनी र सुपौल जिल्लाका नाका र सीमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
मतदान शुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमा नाका बन्द गर्ने सम्बन्धमा नेपाल–भारत समकक्षी बैठकमा भएको समझदारी अनुसार शनिबार राति १२ बजेदेखि सीमा नाका बन्द गरिएको छ । आगामी २५ गते राति १२ बजेसम्म सिमा बन्द रहने जिल्ला प्रशासन कार्यालय, सप्तरीले सूचना जारी गरी जानकारी गराएको छ ।