काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले राजविराज विमानस्थलबाट दैनिक दुई उडानका लागि पहल गर्ने बताएका छन् ।
सप्तरीका एक प्रतिनिधि मण्डलसँगकाे शनिबारको भेटमा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले दैनिक दुई उडान गर्न बुद्ध एयर कम्पनीसँग कुरा गर्ने बताए । ‘उडान थपे बुद्ध एयरलाई पनि व्यवसायिक फाइदा हुन्छ’ मन्त्री पाण्डेले भने, ‘त्यहीँ भएर बुद्ध एयरले पनि दुई वटा उडान भर्नेमा विश्वस्त छु ।’
उनले राजविराजबाट दैनिक दुई उडान गर्न चाडै बुद्ध एयरसँग कुरा गर्ने बताए ।
अहिले याे विमानस्थलबाट दैनिक एक मात्र उडान गर्दै आएको छ ।
मन्त्री पाण्डेले राजविराज विमानस्थलमा सामान चेकिङ गर्नेसहितका उपकरण उपलब्ध गराउन समेत पहल गर्ने बताए ।
उनले सप्तरीस्थित छिन्नमस्ता मन्दिरसहितका धार्मिक पर्यटनको विकासका लागि पनि आफू सकारात्मक रहेको बताए ।
सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिनेश कुमार यादवको नेतृत्वमा कांग्रेस जिल्ला सभापति रामदेव साहसहितका व्यक्ति मन्त्री समक्ष दैनिक दुई उडान गराइदिन अनुराेध गरेका हुन् ।