काठमाडौं । शरीरको भित्री अंगमा पर्ने अनावश्यक प्वाललाई फिस्टुला भएको भनिन्छ । यसले नसाहरुलाई अप्राकृतिक रुपमा जोडेर समस्या निम्त्याउँछ । आन्द्रा र छालाको बीचमा तथा योनी र मलाशयको बीचमा फिस्टुला हुने सम्भावना बढी हुने चिकित्सक बताउँछन् ।
फिस्टुला धेरै प्रकारका हुने भए पनि सबैभन्दा बढी देखिने एनल फिस्टुला हो, जुन सानो नली समान हुन्छ । यसले आन्द्राको अन्त्यको भागलाई गुद्वारको नजिकैको छालासँग जोडिदिन्छ । साधारणतया यो कुनै संक्रमण पूर्ण रुपमा ठीक नभएको अवस्थामा हुन्छ ।
अधिकांश एनल फिस्टुला गुद्वारको नलीमा पीप जम्मा भएर हुन्छ । र, उक्त पीप छालाबाट आफैं बाहिर समेत निस्किन्छ । पीप छालाबाट बाहिर आउनका लागि बनाइएको बाटो खुल्लै हुँदा वा राम्ररी ठीक नभएको अवस्थामा फिस्टुला हुन्छ ।
अहिले फिस्टुला धेरैको समस्या हो । फिस्टुला किन हुन्छ ? यसका लक्षण के के हुन् ? उपचार विधि के छन् ? यिनै विषयवस्तुमा केन्द्रित रहेर डा. लोकेश कर्णसँग अनलाइनखबरकर्मी अंगद सिंहले गरेको कुराकानी :
फिस्टुला के कारणले हुन्छ ?
फिस्टुला आउने विभिन्न कारण हुन सक्छन् । जसमा कपालको प्वालमा इन्फेक्सन भएर, कुनै दुर्घटनामा परेर, उपचार गरेको घाउ नभएर वा शल्यक्रिया गर्दा नपुरिएका घाउ पूर्ण रुपमा निको नभएमा पनि फिस्टुला आउन सक्छ ।
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, क्षयरोगका बिरामी तथा एचआईभीका संक्रमितलाई फिस्टुला हुने अत्यधिक सम्भावना रहन्छ ।
फिस्टुलाको सुरुवाती लक्षण के के हुन् ?
फिस्टुला हुँदा सुरुवातमा त्यति धेरै दुखाइ महसुस नभए पनि अलिअलि दुख्ने हुन्छ । फिस्टुला आउँदा मलद्वार वरिपरि स–साना खटिरा, पिला अर्थात् फोका आउन सुरु हुन्छ । ती फोकाबाट पिप बग्ने रगत आउने समस्या देखिन्छ । यसमा मलद्वार चिलाउने, हिंड्दा भिजेको महसुस हुने, पिप निस्किंदा छालामा जलन हुनु र ज्वरो आउनु तथा थकान महसुस हुनु फिस्टुलाका लक्षण हुन् ।
मलद्वारमा स–साना खटिरा, पिला, र फोका आउनु नै फिस्टुलाको सुरुवाती लक्षण हो ।
फिस्टुला भएमा के कस्ता जटिलता आउन सक्छन् ?
समयमा उपचार गरिएन भने फिस्टुलाको आकार समयसँगै बढ्दै जान्छ । फिस्टुलाको आकार बढ्दै शरीरको भित्रीभागसम्म पुग्दा यसले अन्य अंगलाई समेत हानी पुर्याँछ । फिस्टुला बढ्दै गएपछि इन्फेक्सन हुने र रगतमा पुग्न सक्छ । पिप निस्किने प्वाल र नसाहरु बढ्दै जान सक्छन् । धेरै लामो समयसम्म्म फिस्टुला निको नहुँदा क्यान्सर समेत हुनसक्छ ।
फिस्टुलाको उपचार कसरी गरिन्छ ? औषधिबाट वा शल्यक्रियाबाट ?
फिस्टुलाको संक्रमणबाट बच्नका लागि औषधिको सेवन गर्ने गरेको भए पनि यो औषधिको प्रयोगबाट निको हुँदैन । फिस्टुला आउँदा त्यसले आएको ठाउँमा स–साना प्वाल बनाएको हुन्छ । र, ती प्वाल बन्द गर्न शल्यक्रिया गर्नैपर्ने हुन्छ ।
फिस्टुलाको शल्यक्रिया गर्दा सुरुमा प्वालबाट लिक्विड पठाइन्छ । त्यो लिक्विड कहाँ कहाँ पुग्यो भनेर एक्सरे मार्फत हेर्न मिल्छ । यसबाट फिस्टुलाको असर कहाँकहाँ छ भनेर पत्ता लगाउन सकिन्छ । फिस्टुलाको असर प्रभाव हेरपछि मात्रै शल्यक्रिया गर्ने कि के गर्ने भनेर थाहा हुन्छ ।
फिस्टुला पूर्ण रुपमा निको हुने सम्भावना कम हुन्छ । यो बेलाबेला बल्झिरहन सक्छ । फैलिसकेको फिस्टुलाको शल्यक्रिया गर्दा त्यो घाउ पूर्ण रुपमा निको हुन्छ भन्ने हुँदैन । कारण त्यहाँ ठूलो घाउ भएको हुन्छ ।
फिस्टुलाको सबैभन्दा पुरानो र राम्रो उपचार भनेको क्षारसूत्र विधि हो । पायल्स, फिसर र फिस्टुलाजस्ता रोगको उपचारमा धागोको प्रयोग गरी गरिने आयुर्वेदिक चिकित्सा पद्धतिलाई क्षारसूत्र भनिन्छ । यो पाँच हजार वर्ष पुरानो आयुर्वेदिक विधि हो । यसमा विभिन्न प्रकारका औषधिजन्य जडिबुटीबाट बनेको धागोलाई प्वालबाट भित्र पसाएर उपचार गरिन्छ ।
जोखिम कम हुने भएकाले यसलाई निकै प्रभावकारी विधि मानिन्छ । यसमा बेलाबेला धागो परिवर्तन गरिरहनुपर्छ । यो पद्धति अनुसार उपचार गरेमा बल्झिने जोखिम पनि कम हुन्छ । अहिले एलोपेथिक उपचार पद्धतिले पनि यसको अनुशरण गरेर उपचार गरिरहेको छ ।
फिस्टुला पूर्ण रुपमा निको हुन्छ कि समय–समयमा बल्झिरहन्छ ?
फिस्टुला पूर्ण रुपमा निको हुने नहुने कुरा सेवाग्राहीमा भर पर्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर, एचआईभी र स्वास्थ्य सम्बन्धी अन्य समस्या भएकाहरुलाई बेलाबेला इन्फेक्सन हुन सक्छ । गाह्रो र हाँगाबिंगा धेरै भएको फिस्टुलामा बल्झिने समस्या आउन सक्छ । फिस्टुलाको समस्या उपचारपछि नबल्झिने भनेर ठोकुवा गर्न सकिंदैन । यो संक्रमितको स्वास्थ्य अवस्थामा भर पर्छ । संक्रमितको खानपान, जीवनशैली र अन्य संक्रमणको प्रकृतिमा निर्भर गर्छ ।
कस्तो अवस्थामा फिस्टुलाको उपचार जटिल बन्छ ?
बिरामीलाई फिस्टुलाका साथै अन्य संक्रमण र दीर्घरोग लागेको भए उपचार गर्न जटिल हुन्छ । दीर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकालाई संक्रमण छिटो हुने भएकाले उपचार गर्न गाह्रो हुन्छ । मलद्वारबाट भित्रीभागसम्म पुगिसकेको फिस्टुलाको उपचार गर्न जटिल हुन्छ ।
फिस्टुला भए के कस्तो सावधानी अपनाउनुपर्छ ? खानपानले कत्तिको असर गर्छ ?
फिस्टुला पाचन प्रणालीसँग सम्बन्धित रोग हो । यसमा खानपानले ठूलो भूमिका खेलेको हुन्छ । फिस्टुला तथा जुनसुकै रोगबाट बच्न तथा स्वास्थ्यको लागि सन्तुलित र स्वस्थ खाना खानु अनिवार्य छ ।
फिस्टुलाको समस्या भएपछि रेसादार खानेकुरा बढी मात्रामा खानुपर्छ र माछामासुको प्रयोग सकेसम्म कम गर्नुपर्छ । यसका लागि हरियो सागपात, फलफूल र ताजा खाना खानुपर्छ । फिस्टुलाबाट बच्न दैनिक व्यायाम गर्नुपर्छ र रोगप्रतिरोधात्मक क्षमता बढाउनुपर्छ ।
फिस्टुला हुनै नदिने कुनै उपाय छ ?
फिस्टुला हुनै नदिने भन्ने त हुँदैन । यो खानपानका साथै अन्य कारणले पनि हुनसक्छ । कुनै दुर्घटना भएर लागेको घाउचोटका कारण पनि फिस्टुला हुने गर्छ । फिस्टुला हुन नदिन आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिने हो । यदि भइहाल्यो भने समयमै परीक्षण गरी उपचार गराउनुपर्छ ।
बजारमा फिस्टुलाको उपचार ग्यारेन्टीका साथ उपचार गरिन्छ भने विज्ञापन पनि देखिन्छ । यस्तो सम्भव छ ?
फिस्टुलाको ग्यारेन्टीका साथ उपचार गरिने भन्ने कुरा बजारीकरण मात्रै हो । रुघा मात्रै लागेको छ भने पनि ग्यारेन्टी दिन सकिंदैन भने यो सम्भव हुने कुरै भएन । स्वास्थ्य क्षेत्र संवेदनशील विषय भएकाले बजारीकरणभन्दा पर रहेर स्वास्थ्य परीक्षण गराएर मात्रै उपचार गर्नुपर्छ ।
हरेक मान्छेको स्वास्थ्य अवस्था फरक हुने भएकाले कुनै पनि रोगको उपचारको ग्यारेन्टी गर्न मिल्दैन ।