कंचनरूप । सप्तरीकाे कंचनरूप नगरपालिकामा भएको बस दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ ।
कंचनरुप नगरपालिका वडा नम्बर १० बदगामा स्थित पूर्व पश्चिम राजमार्गमा उदयपुरबाट बिराटनगरतर्फ जादै गरेको प्र१-०१-००१ ख ३४२० नम्बरको डल्फिन बस आफै अनियन्त्रित भई पल्टिएर आइतबार मध्यान्ह दुर्घटना भएको थियोे ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियोे । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका-२ खैजनपुरकी २२ बर्षीया कविता चौधरी र झापा गौरदह-२ का ३९ बर्षीय अनिल राई रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ७५ बर्षका बृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
सप्तरीको सप्तकोसी नगरपालिका १ बस्ने रत्न बहादुर मग्रातीको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।
दुर्घटनामा दुई दर्जन भन्दा बढी घाइते भएका छ्न । दुर्घटनामा सप्तरीको सप्तकोशी नपा १ बस्ने बर्ष २१ की सुबेता दाहाल, २६ बर्षका चेतना भट्टराई, झापाका मनोज भट्टराई, मिना भट्टराई, उदयपुरकाे चौडण्डी नगरपालिका ५ बस्ने ५९ की कमला भुसालसहितका घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बस तथा बसका चालक झापाको मेची नगरपालिका ७ बस्ने ४७ बर्षका अमृत दर्जीलाई इलाका प्रहरी कार्यालय कंचनपुरमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।