राजविराज । मान्छे जस्तोसुकै भएपनि पदको महत्व हुन्छ । कुनै पनि कार्यक्रम संचालन गर्दा या भाषण दिने बेला यसको ख्याल गर्नैपर्ने हुन्छ । अन्यथा पदको गरिमा खस्किन्छ ।
बिहीबार राजविराजमा यस्तै भयो । कार्यक्रम थियो राजविराज बसपार्कको उद्घाटन । कार्यक्रमको आयोजक थियो राजविराज नगरपालिका । र, कार्यक्रमको प्रमुख अतिथि थिइन् नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिन ।
आश्चर्यको कुरा त के देखियो भने सोही मंचमा जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साह पनि विराजमान थिए । तर, उनी विशिष्ट अतिथिको रुपमा थिए ।
आफैं आयोजक बन्ने र आफैं प्रमुख अतिथि पनि बनेको सम्भवतः यो पहिलो हुन सक्छ । नगर प्रमुख भन्दा पदमा ठूलो रहेको समन्वय समिति प्रमुखलाई विशिष्ट अतिथी बनाएर नगरपालिकाका कावा प्रमुखले पदको मर्यादालाई भताभुँग बनाएको कार्यक्रम स्थलमा चर्चा चल्यो ।
कार्यक्रममा मन्तव्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले कुनै पनि पदको मर्यादा राख्नुपर्ने बताए । ‘यसरी पदको मर्यादा नराखे सिस्टम भताभुङ हुन्छ’ उनले भने ।
नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य अरुण प्रधानले पनि यसमा जोड् दिए । उनले यस्ता कुराहरुमा गम्भीर बन्न सुझाव दिए ।
कार्यक्रम स्थलमा उपस्थित भएकाहरुले नगरका कावा प्रमुख आफैं प्रमुख अतिथी बन्ने जानकारी पाएपनि कार्यक्रममा सहभागी भएर जिल्ला समन्वय समिति प्रमुखले आफ्नो पदको आफैं तिलाञ्जली दिएको बताउन थालेका थिए ।