![]()
राजविराज । सप्तरीका १८ पालिकामध्ये काममा धेरै पछि परेको राजविराज नगरपालिकामा निलम्बित मेयर र कावा मेयरबीचको विवाद प्रष्टफुटित भएको छ ।
कर्मचारीको बिषयलाई लिएर दुबै आमने सामने भएका हुन् । चालू आ.ब.को अन्त्यसम्म कुनै पनि काम हुन नसकेको यो नगरपालिकामा निलम्बित मेयर भीमराज यादव र कावा मेयर इसरत परबिनबीच चर्किएको विवादले काममा अझ अवरोध हुने पक्कापक्की देखिएको छ ।
पछिल्लो पटक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहको सरुवा भएको छ । साहको सरुवा गरी शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त बनाएर संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले पठाएको छ ।
शिक्षा शाखा प्रमुख यादवलाई निमित्तको जिम्मेबारी दिएको भोपलिपल्टै आईतबार निलम्बित मेयर दलबलका साथ आएर नगरपालिकाको कार्यालयमा तालाबन्दी गराएका छन् ।
तालाबन्दीपछि बोल्दै यादवले पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका उप सचिव डा. साहले भ्रष्टाचारमा लगाम लगाएका कारण उनको सरुवा गरिएको बताए । ‘भ्रष्टाचारलाई लगाम लगाउँदै चेकमा हस्ताक्षर गर्न छोडेपछि उनको लाखौंलाख खर्च गरेर सरुवा गरिएको छ’ यादवले भने ।
उनले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका भोगेन्द्र यादव भ्रष्टाचारी रहेको आरोप समेत लगाए । ‘उनले लाखौंलाख भ्रष्टाचारी गरेको छ’ यादवले भने, ‘उनी जनताको रगतको पैसाले लेखापाल र इन्जिनियरलाई लिई थाइल्याण्ड घुमेका छन् ।’
आफू निलम्बन भएपछि कावाले कुनै सल्लाह नगरेको भन्दै उनले धेरै सम्झाएपनि वास्ता नगरेको बताए । ‘उनले प्रश्न गरे, ‘नगरको विकास कति भएको छ ?’
आफ्ना नजिकको हाकिम राख्ने दाउ
निलम्बित मेयर यादवले जेजस्तो भएपनि नगरपालिकामा कर्मचारीकै विवादका कारण एकै पार्टीबाट निर्वाचित दुबै जना आमनेसामने आएका हुन् । यी दुबै जसपा नेपालबाट निर्वाचित भएका हुन् ।
नगरपालिकाको योजना शाखा प्रमुख मनोज यादव निलम्बित मेयरका निकटतम हुन् । पछिल्लो पटक योजना शाखा प्रमुख यादवले नगरपालिकामा तोडफोडको प्रयास गरेका थिए । घट्नापछि कावाले प्रहरीमा जाहेरी दिएपछि उनले लिखित रुपमै माफी मागेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका डा. श्रवण साह पनि योजना अधिकृतसँगै मिलिसकेका थिए । यी दुबै नगरपालिकाले आयोजना गरेको बसपार्क उद्घाटनमा सहभागी समेत भएका थिएनन् ।
प्रमुख प्रशासकीय अधिकृत साह र योजना प्रमुख यादव एकातिर हुँदा बाँकी कर्मचारी एकातिर थिए ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समितिको अगुवाईमा बाँकी कर्मचारी साह र यादवलाई कार्वाहीको माग गर्दै गत बिहीबारदेखि आन्दोलनै शुरुवात गरेका छन् ।
कर्मचारीको आन्दोलनबीच निलम्बित मेयर पक्षधरद्वारा नगरपालिकामा तालाबन्दी गरिएको छ ।
नगरपालिकामा अर्काे कर्मचारी विवाद पनि छ । यहाँ एक जना स्थायी इन्जिनियरको पदस्थापना गरिएको छ । यसपछि करारमा कार्यरत इन्जिनियर अशोक दासलाई प्रमुख प्रशासकीय अधिकृत डा. साहले करार भंग गरेका छन् ।
आन्दोलित कर्मचारीका अनुसार दासको करार अवधी बाँकी नै रहेको समयमा उनलाई हटाइएको छ ।












