![]()
राजविराज । राजविराज नगरपालिकामा देखिएको विवाद अन्त्य भएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा दिनभर बसेको जिम्मेवार पक्षसहित सर्वदलीय बैठकले राति अबेर ३ बुँदे सहमति भएसँगै विवाद अन्त्य भएको हाे ।
सहमति अनुसार नगरपालिकामा भए गरेका काम कारवाहीको सन्दर्भमा उठेका अनियमितता, उजुरी र रकम हिनामिनाको सम्बन्धमा विज्ञ सहितको छानविन समिति गठन गरिनेछ ।
नगरपालिकामा स्थायी दरबन्दीमा नियुक्ती भएका इन्जिनियरलाई नियुक्ति भएको दिनदेखि तलब उपलब्ध गराउने र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत हरि किसोर प्रसाद चन्द्रवंशीलाई तोकिए पश्चात निजलाई तत्काल हाजिर गराउने सहमति अनुसार नगरपालिकामा लगाएको तालाबन्दी तत्काल खोल्ने निर्णय गरिएकाे छ।
निलम्बित मेयर भीमराज यादवले लगाएको ताला कावा मेयर इसरत परबिन नेतृत्वको जनप्रतिनिधीले तोडेपछि मंगलबार झडप र ताेडफाेड गरिएको छ ।
गत आईतबार यादवले लगाएको ताला मंगलबार बिहान परबिन नेतृत्वको टोलीले तोडेर निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई हाजिर गराएका थिए ।
ताला तोडिए लगत्तै यादवकै नेतृत्वमा उनका समर्थकहरुले नगरपालिका कार्यालयमा नाराबाजी गर्दै तोड्फोड गरेका छन् । कार्यालय भवनको अधिकांस सिसा उनीहरुले फुटाएका छन् । यस्तै, बारुण यन्त्रका कर्मचारी बस्ने भवनका समेत सम्पूर्ण सिसा उनीहरुले फुटाएका छन् ।
ती समूहले नगरपालिकाका लेखापाल शत्रुद्यन लाल दासलाई निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट गम्भीर घाइते भएका दासको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
ती समूहले नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सन्तोष दासलाई समेत हातपात गरेका छन् भने फोटो खिंचिरहेका तीन जना सर्वसाधारणको मोवाइल खोसेर फुटाइदिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवाको बिषयलाई लिएर नगरपालिकाका निलम्बित मेयर भीमराज यादवले आईतबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहको ठाउँमा शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि यादवले प्रदर्शन गर्दै तालाबन्दी नै गरेका थिए ।












