![]()
राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा २५ असारको राति भएको घट्ना समाधान पार्ने उद्देश्यले सप्तरीका पालिका प्रमुखहरुको बैठक आईतबार बसेको छ ।
शम्भुनाथ नगरपालिकामा बसेको जिल्लाका पालिका प्रमुखहरुको बैठकले तत्काल कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ ।
‘हाम्रो बैठकले तत्काल कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ’ बैठकमा सहभागी बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले भने, ‘बाँकी कुरा वार्ताको माध्यमले टुँग्याउने कुरा भएको छ ।’
उनका अनुसार मंगलबार जिल्ला समन्वय समितिका प्रमुखको रोहबरमा जिल्ला प्रशासन कार्यालयमा बैठक बसी समस्याको समाधान खोज्ने निर्णय समेत भएको छ ।
वार्ता र सहमतिकै आधारमा समस्या समाधान गर्ने निर्णाय पालिका प्रमुखहरुले गरेका छन् ।
बैठकमा शम्भुनाथका निलम्वित मेयर जितेन्द्र प्रमाद गुप्ताले समेत सहभागिता जनाएका छन् ।
बैठकमा कंचनरूप नगरपालिका मेयर ललन प्रसाद गुप्ता, डाक्नेश्वरी नगरपालिका मेयर रामलखन मलाह, सुरुङ्गा नगरपालिका मेयर गीता चौधरी, बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादव, राजविराज नगरपालिकाका कावा मेयर इसरत परबिन, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादव, बलान विहुल गाउँपालिकाका अध्यक्ष खेम चन्द्र यादव लगायतका पालिका प्रमुखहरुको सहभागिता रहेको थियो ।
चालू आ.ब.को अन्तिम दिन २५ असारको राति आफूहरुलाई नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता, कावा मेयरका सल्लाहकार अनिल भगतसहितकाले कुटपिट गरेको भन्दै कर्मचारी कामकाज ठप्प गरी धर्ना बस्दै आएका छन् ।
कर्मचारीहरुका अनुसार बुधबार राति निलम्बित मेयर जितेन्द्र प्रसाद गुप्ता, कावा मेयरका सल्लाहकार अनिल भगतसहितकाले इन्जिनियर सुनिल कुमार यादव, सव इन्जिनियरद्वय बिनोद यादव र मनोज कुमार चौधरी, सूचना प्रविधि अधिकृत र जिन्सी शाखा प्रमुख मो. तमन्ना, हलुका सवारी चालक हरी प्रसाद भगतलाई कुटपिट गरेका हुन् ।
कुटपिटमा परेपछि कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई बिहीबार ज्ञापन पत्र बुझाउँदै सुरक्षाको माग गरेका छन् ।
यस्तै, उनीहरुले कुटपिट गर्नेमाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिएका छन् ।
यसैबीच नेपाल कर्मचारी युनियनले शम्भुनाथका कर्मचारीले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
कर्मचारी युनियनका अध्यक्ष सूर्यकान्त झाले कर्मचारीको आन्दोलनप्रति ऐक्यबद्धता रहेको बताए । उनले कर्मचारीलाई कुटपित गर्नेलाई कार्वाहीको माग समेत गरेका छन् ।












