![]()
राजविराज । संघीय शिक्षा ऐनमा नीजि विद्यालय बन्द गर्ने गरी ल्याउन लागिएको नीतिबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकहरुले प्रदर्शन गरेका छन् ।
उनीहरुले हातमा कालोपट्टी बाँधेर बिभिन्न नारा लगाउँदै आईतबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका हुन् ।
सरकारले ल्याएको शिक्षा विधेयकले नीजि विद्यालय मास्न खोजेको भन्दै स्थानीय शिव मन्दिर प्राङणबाट निकालिएको बिरोध जुलुस नगरको बिभिन्न भाग परिक्रमा गर्दै पुनः सोही ठाउँमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै बक्ताहरुले शिक्षा विधेयकले नीजि विद्यालय बर्बाद गर्न खोजेको भन्दै सुधार गर्न माग गरे । सुधार नगरे आफूहरु विद्यालय बन्द गरेर अन्य कड आन्दोलनमा उत्रने उनीहरुले बताए ।
कोण सभामा प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार झा, केन्द्रीय सदस्य रिभा ठाकुर र नागेन्द्र श्रेष्ठ, प्रदेश उपाध्यक्ष अरूण कुमार देव, जिल्ला अध्यक्ष उग्रकान्त झा, नेपाल प्याब्सनका कावा अध्यक्ष मनोज यादवसहितकाले बोलेका थिए ।
कार्यक्रमको संचालन प्याब्सनका जिल्ला सचिव संजय शर्माले गरेका थिए ।
शिक्षा विधेयकमा राखिएको ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाउनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोसाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना (खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर–नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था मिलाउनुपर्ने माग उनीहरुको छ ।












