![]()
राजविराज । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भुमि विधेयक पारित भए तराई मधेश मरुभूमि बन्ने पक्का रहेको बताएका छन् ।
राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अव्यवस्थित बसोबासीलाई सम्बोधन गर्न खोज्नु नै चुरे विनाश गर्न खोज्नु भएको बताए ।
अहिले वन, आरक्ष, मध्यवर्ती र चुरे क्षेत्रमा धेरै परिवार बसिरहेकाहरुले उनीहरूलाई त्यहीँ जग्गाको लालपुर्जा दिनु नै मधेशलाई मरुभूमिकरण बनाउन खोजेको उनको भनाई छ ।
अहिले नै पानीको समस्या रहेकाे भन्दै उनले चुरेकाे विनाशकै कारण याे समस्या सृजित भएको बताए ।
अन्य कारणले सुख्खा देखाउन खोजेको भएपनि चुरे क्षेत्रमा अव्यवस्थित बसोबासीकै कारण पानीको समस्या सृजित भएको उनको भनाई छ ।
‘भुमिहिनलाई जग्गा दिनेमा समस्या छैन’ उनले भने, ‘ अव्यवस्थित बसोबासी अमान्य हुन्छ ।’
सुशील कोइराला प्रधानमन्त्री हुँदा तत्कालीन सचिव रामेश्वर खनालको प्रतिवेदनले त्यस्तो ठाउँमा बसोबास गरिरहेका ४२ हजार परिवारलाई अन्यत्र बसोबास सार्नुपर्छ भन्ने सुझाव दिएको भन्दै उनले त्यो सुझाव कार्यान्वयन गरेर अघि बढे आफुहरुलाई कुनै अमान्य नहुने बताए ।
अव्यवस्थित बसोबासी हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुने उनको भनाई छ ।












