![]()
राजविराज । बिभिन्न माग राखी ज्ञापन बुझाएको तीन साता बितिसक्दा समेत चासो नदेखाएको भन्दै सप्तरीको बिष्णुपुर गाउँपालिकाका युवा तथा विद्यार्थीहरुले आईतबार प्रदर्शन गरेका छन् ।
युवा तथा विद्यार्थीहरुले गत असोज २६ गते प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दलाई ज्ञापन पत्र बुझाएका थिए । विद्यालयमा सफा खानेपानी, गुणस्तरीय शिक्षा र आवश्यक शैक्षिक पूर्वाधार सुनिश्चित गर्नुपर्नेसहितका माग राख्दै बुझाइएको ज्ञापनमा चासो नदेखाएको भन्दै विद्यार्थी एवं युवाले प्रदर्शन गरेका हुन् ।
‘हामीले १२ बुँदे माग राखेर बुझाएको ज्ञापनप्रति कुनै चासो नलिएपछि बाध्य भएर सोमबार आफूहरुले प्रदर्शन गरेका हौं’ स्थानीय युवा पार्वती साहले भनिन् ।
आईतबार युवा तथा विद्यार्थीहरुले बिभिन्न नारासहितको प्लेकार्ड बोकेर एक घण्टा प्रदर्शन गरेको उनले बताइन् ।
‘बालबालिकाको आवाज सुन्नैपर्छ, विकासको नाममा भ्रष्टाचार बन्द गर, स्थानीय विकास भएन भने कुर्सी किन चाहिन्छ, विद्यालय सुधार भन्दा देश सुधार सम्भव छैन, हाम्रो माग पूरा गरजस्ता नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकै क्रममा गाउँपालिका अध्यक्ष आएपनि कुनै चासो नदिएको आन्दोलनकारीको भनाई छ । आफूहरुको माग पूरा नगरे छठ लगत्तै चरणबद्ध आन्दोलनमा उत्रने युवा तथा विद्यार्थीहरुको भनाई छ ।












