![]()
राजविराज । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा प्रवेश गरेको छ ।
वातावरणीय प्रभाव मूल्यांकनको पहिलो चरणको काम सकिसकिएको छ भने माघको दोस्रो सातासम्म दोस्रो चरणको काम पनि सकिने लक्ष्य राखिएको छ ।
रामराजाजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. पशुपति चौधरीले कुनै पनि भौतिक निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिएकाले अहिले यहीं प्रकृयामा रहेको बताए ।
‘यो प्रकृया अन्तर्गत पहिलो चरणको काम सकिएको छ’ इग्रीन मधेशसँग उनले भने, ‘हामी दोस्रो चरणमा प्रवेश गरेका छौं ।’
वातावरणीय प्रभाव मूल्यांकनको पहिलो चरण अन्तर्गत भौतिक निर्माण हुने ठाउँमा वन, जंगल रुखबिरुवा छ कि छैन जस्ता मूल्यांकन हुने गर्दछ । अध्यक्ष डा. चौधरीका अनुसार यो मूल्यांकन भइसकेको छ ।
अब दोस्रो चरणमा भौतिक निर्माणले वस्तीमा कस्तो इफेक्ट पार्छ, फोहोर मैला कसरी व्यवस्थापन हुन्छ ? जस्ता मूल्यांकन हुन्छ । यसका निम्ति प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिले सूचना जारी गरिसकेको उनले बताए ।
अब पुस मसान्तभित्रै र नभै माघको पहिलो हप्तासम्म यो पनि टुँगिने उनले बताए ।
‘एउटा वातावरणीय प्रभाव मूल्यांकन टुँग्याउन चार बर्षसम्म लाग्छ, तर प्रतिष्ठानको काम द्रूत गतिमा भइरहेको छ’ उनले भने । उनका अनुसार बहुबर्षीय योजनामा यो अति आवश्यक छ ।
यो टुँगिए लगत्तै प्रतिष्ठान निर्माणका लागि टेण्डर प्रकृयामा जाने अध्यक्ष डा. चौधरीले बताए ।
यो बर्ष तत्काल प्रतिष्ठान निर्माणका लागि रु १६ करोड बजेट रहेको उनले बताए । ‘बजेट त अरु निकायहरुबाट पनि आउँछ, दातृ निकायहरुबाट पनि आउन सक्छ’ उनले भने, ‘प्रकृयाहरु चाँडो पूरा भए कामले पनि गति लिनेछ ।’
२०७५ सालमा मन्त्रीपरिषद् बैठकले राजविराज नगरपालिका वडा नम्बर १० बिरौलमा प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो । यसपछि २०७८ साल असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए ।
प्रतिष्ठान निर्माणका लागि नेपाल सरकारबाट ६१ बिघा ६ कठ्ठा जग्गा ३० वर्षका लागि लिजमा उपलब्ध गराउने निर्णय समेत भइसकेको छ ।












