![]()
राजविराज । गृहमन्त्री रमेश लेखकले सरकार ढल्ने हल्ला चल्दै गर्ने बताएका छन्।
नेपाल पत्रकार महासङ्घ सप्तरीको सभा हलमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हल्ला चल्दै गरे पनि सरकार ढल्न नसक्ने बताए । ‘यो सरकारमा अहिले कुनै पनि समस्या छैन’ उनले भने, ‘सानोतिनो समस्या आए पनि हामी बसेर छलफल गरी सहमति गर्दै आएका छौं ।’
नेपाली कांग्रेस र नेकपा एमाले बीच भएको ७ बुँदे सहमति अनुसार नै सरकार अघि बढिरहेको उल्लेख गर्दै मन्त्री लेखकले सरकार संचालनमा कुनै पनि बाधा अड्चन नरहेको बताए ।
सरकारको १० महिना पूरा भइसक्दा धेरै सकारात्मक परिवर्तनहरू भएको उनले बताए।
‘१० बर्षअघि बिग्रदो अर्थतन्त्र लयमा आएको छ’ उनले भने, ‘अहिले विदेशी मुद्राको सन्चिति, मूल्य वृद्धि नियन्त्रण र निर्यातमुखी व्यापारलाई अगाडि बढाउने काम सकारात्मक रुपमा भएको छ।’
मन्त्री लेखकले कानुनी र नीतिगत कुरा पनि धेरै अघि बढेको भन्दै नयाँ बनाउने कानुनका निम्ति विधेयकहरु थुप्रै तयार भएको जानकारी गराए । उनले शिक्षा तथा निजामती विधेयक चाँडै अघि बढ्ने बताए ।
१८ वर्षदेखि अलमलमा रहेको संक्रमणकालीन न्यायको विषयलाई सम्बोधन गरिएको भन्दै उनले यसैका निम्ति दुईवटा आयोगको गठन भएको जानकारी गराए।
देशमा रहेको निराशालाई आशामा परिणत गर्न सरकार बनेको उल्लेख गर्दै उनले सरकारले आग्रह पूर्वाग्रह राखेर मुद्दा नचलाउने, अनुसन्धान नगर्ने र आफ्नो गल्तीको ढाकछोप समेत नगर्ने बताए।












