राजविराज ।
सुरुङा नगरपालिका र खडक नगरपालिकाभित्रका ७२ वटा सामुदायिक विद्यालयहरूले ‘विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ विविध कार्यक्रमहरूको आयोजना गरी उत्साहपूर्वक सम्पन्न गरेका छन्। जेठ १ गतेदेखि ७ गतेसम्म सञ्चालन भएको यस सप्ताहअन्तर्गत बालबालिकामा पोषण र स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ विभिन्न गतिविधिहरू सञ्चालन गरिएको हो।
सप्ताहभरि विद्यालयहरूमा जुकाको औषधि खुवाउने, आँखाको परीक्षण, कानको परीक्षणजस्ता निःशुल्क स्वास्थ्य परीक्षणहरू सञ्चालन गरिनुका साथै बालबालिकालाई पोषणयुक्त खानेकुरा सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको थियो। साथै, स्थानीयस्तरमा पाइने सस्तो र पौष्टिक खानेकुराहरूको प्रदर्शनीमार्फत पोषणको महत्व झल्काइएको थियो ।
यस सप्ताहको मूल उद्देश्य बालबालिकालाई प्रारम्भिक उमेरदेखि नै स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्नु, पोषणयुक्त आहारको महत्त्व बुझाउनु र नियमित स्वास्थ्य परीक्षणको अभ्यासलाई प्रोत्साहन गर्नु हो। पोषणयुक्त खाना सेवनले बालबालिकाको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । यो केवल रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने मात्र नभई सिकाइ क्षमतामा समेत सुधार ल्याउने एक आधारशिला हो ।
Save the Children in Nepal को सहयोग तथा सुरुङा नगरपालिका र Khadak Municipality Saptari को समन्वयमा सबल नेपालद्वारा सञ्चालित #sammunati (सम्मुनति) कार्यक्रम’ अन्तर्गत सञ्चालन गरिएको हो । कार्यक्रमको सफल कार्यान्वयनका लागि दुबै पालिकाको शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो ।
सप्ताहभरीका गतिविधिहरूले बालबालिका, शिक्षक, र अभिभावकहरूमा पोषण र स्वास्थ्यप्रति नयाँ चेतनाको विकास गरेको विश्वास लिइएको छ। यस्तो प्रकारको कार्यक्रमले विद्यालय स्तरमै पोषणमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्नेछ ।