![]()
राजविराज । नगर सभाको बन्द सत्रकाे माइन्युट दुई साताअघि नै तयार गरि हस्ताक्षर गरेको सार्वजनिक भएपछि सप्तरीको शम्भुनाथ नगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नगर सभाको उद्घाटन गत असार ७ गते गरेको यो नगरपालिकाले असार २६ गतेको बन्द सत्रको माइन्युट सोही दिन तयार पारेको थियो ।
पहिला नै तयार गरिएको माइन्युटमा नगरका कावा मेयर अनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार, वडा नम्बर २ का अध्यक्ष दुर्गानन्द भगत, वडा नम्बर ४ का अध्यक्ष विजय कुमार साह, १२ का अध्यक्ष संजय कुमार साह, नगर सभा सदस्य सेवकी देवी सरदार र सजनी देवी सरदारले हस्ताक्षर गरेका छन् ।
पहिला नै माइन्युट तयार गरि बजेट आफ्नो अनुकुल पार्न नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ताले कावा मेयर चौधरीका सल्लाहकारमा आफ्ना मान्छे अनिल भगतलाई नियुक्त गरेका छन् । भगतकै अगुवाइमा यस्तो काम भएको भन्दै एक स्थानीयले अख्तियारको इटहरीस्थित कार्यालयमा उजुरी दिएका छन् ।
उजुरीमा छानबिन गरि कार्वाहीको माग गरिएको छ ।
‘बन्द सत्रका लागि ७ असारमै माइन्यूट तयार गरी जनप्रतिनिधि र कर्मचारीबाट हस्ताक्षर गराइएको पाइएको छ। कावा मेयर अनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहार, र केही वडा अध्यक्षहरूले पहिल्यै माइन्यूटमा हस्ताक्षर गरिसकेका छन्। निलम्बित मेयर जितेन्द्र गुप्ताको सक्रियतामा कावा मेयरका सल्लाहकार अनिल कुमार भगतसँग मिलेर यो खेल गरेको छ’ उजुरीमा भनिएको छ, ‘नगरसभाको प्रक्रिया नमानी नीतिगत भ्रष्टाचार गर्ने योजना बनाएकोले यस विषयमा छानविन गरी कारवाहीको लागि अनुरोध छ ।’












