![]()
राजविराज । राजविराज मेयर कप सप्तरी महिला प्राइड लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण बुधबारदेखि राजविराजमा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमै सेन्चुरी प्रहार भएको छ ।
खडक क्वीन्सनबिरुद्धको खेलमा राजविराज रोयल्सबाट खेलेकी अपसरी बेगमले शतकीय प्रहार गरेकी हुन् ।
टिमको अपनरको रुपमा आएकी बेगमले ६६ बलमा १६ चौका र ३ छक्काको मद्दतले अविजित १०९ रनको योगदान दिइन् ।
यसअघि राष्ट्रिय टिमबाट खेलिसकेकी झापाकी बेगमको उत्कृष्ट प्रदर्शनले राजविराज रोयल्स टिम निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर १७८ रनको योगफल बनायो ।
यो योगफल बनाउने क्रममा सप्तरीकी साझी यादवले ४१ रनको योगदान दिइन् ।
स्थानीय पवि माविको खेल मैदानमा टस जितेर पहिला व्याटिङ्ग गरेको रोयल्स टिमका २ व्याट्सम्यानलाई खडकका भूमी सिंहले पेभेलियन फर्काइन् । खडककै मोनिका साह र टिका साहले १÷१ विकेट हात पारिन् ।
१७९ रनको लक्ष्य लिएर व्याटिङ्ग गरेको खडक टिम ६विकेट गुमाएर ११४ रनमै समेटियो । उसका लागि ममता चौधरी ४८, मोनिका साह र टीका साहले समान १३÷१३ रन बनाए ।
राजविराज रोयल्सका प्रतिमा साह र अपेक्षा यादवले २÷२ तथा साक्षी र अपसरी बेगमले १÷१ विकेट लिए ।
खेलमा आक्रामक पारी खेलकी झापाको मेचीनगरपालिका ६ की बेगम प्लेयर अफ द म्याच घोषित भइन् ।












