![]()
दिपेश जोशी
राजविराज । सप्तरीसहित मधेशका सामुदायिक विद्यालय जाँदा रजिष्टरमा नाम उल्लेख भए बमोजिम विद्यार्थीको संख्या कहिले पनि देखापर्दैन् । हरेक विद्यालयमा रजिष्टर अनुसारको विद्यार्थी फेला पर्दैनन् । कतै आधा त कतै आधा भन्दा पनि कम विद्यार्थी भेटिन्छन् ।
सप्तरीको एक सामुदायिक विद्यालयमा भने एक जना विद्यार्थी समेत भेटिएनन् । यो पनि सदरमुकामकै विद्यालयमा ।
सदरमुकाम राजविराज १० स्थित गायत्रीबेली जगदशी सावित्री सुध आधारभूत विद्यालयमा बुधबार अनुगमन टोली जाँदा एक जना पनि विद्यार्थी नभेटिएको हो । विद्यालयकी प्रधानाध्यापक सुष्मा यादव र एक जना कार्यालय सहयोगी उपस्थित भएपनि एक जना विद्यार्थी पनि उपस्थित नपाइएको शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत कमलनाथ यादवले जानकारी दिए ।
विद्यालयकी प्रधानाध्यापक यादवले विद्यालयमा १०९ जना विद्यार्थी भएको बताइन् । उनले यत्रो विद्यार्थीको दावी गरेपनि रजिष्टर हेर्दा कक्षा १ मा २२ जना, कक्षा २ मा १९ जना, कक्षा ३ मा १७ जना र कक्षा ४ मा १० जना गरी ६८ जना विद्यार्थी मात्रै उल्लेख भएको देखियो ।
आश्चर्यको कुरा त के भने अहिले असार महिना चलिरहँदा ती विद्यालयको रजिष्टरमा विद्यार्थीको हाजिरी बैशाखदेखि यता भएकै छैन् ।
राहत कोटामा कार्यरत यादवसँगै एक जना कार्यालय सहयोगी यो विद्यालयमा काम गर्दै आएका छन् ।
यादवले विद्यालयमा अध्ययन गर्ने दलित समुदायका बालबालिका नै बढी रहेको र उनीहरु कहिले आउने र कहिले नआउने गरेको बताइन् । खाँडो वारपार गर्न समस्या हुने भएकाले बालबालिका विद्यालय नआउने गरेको उनले बताइन् ।
शिक्षा विकास तथा समन्वय इकाई, सप्तरीले अहिले अनुमति नलिई नीजि विद्यालय संचालन गरिरहेको सन्दर्भमा नियमित अनुगमन गर्दै आएको छ । १९ बैशाखमा उच्च अदालत जनकपुर, राजविराज इजलासले अनुमति पाएकोभन्दा माथिल्लो कक्षा संचालन नगर्न अन्तरिम आदेश दिएसँगै नियमित अनुगमन गर्दै आएको शिक्षा विकास समन्वय इकाईका अधिकृत यादवले बताए । उनले यहीं अनुगमनका क्रममा सामुदायिक विद्यालयको अनुगमन गर्दा यस्तो हवीगत देखापरेको बताए ।
अधिकृत यादवका अनुसार अनुमति बिनाको माथिल्लो कक्षा संचालन गर्ने राजविराजसहित कंचनरुप नगरपालिका र अग्निसाइर कृष्णसवरन गाउँपालिकाका नीजि विद्यालयको अनुगमन गरिएको छ ।
आरडी मेमोरियल एकेडेमी कंचनरुप ९ ले कक्षा ८ सम्मको अनुमति लिएर १० सम्म संचालन गर्दै आएको, अग्निसाइर कृष्णसवरन गाउँपालिका ४ स्थित माँ इंगलिस बोर्डिङ्ग स्कुल कक्षा ५ सम्मको अनुमति लिएर ८ सम्म संचालन गरिरहेको, यहीं गाउँपालिकाको वडा नम्बर ३ स्थित राधाकृष्ण एकेडेमी पूर्व प्राथमिकको अनुमति लिएर एलकेजीसम्म संचालन गरिरहेको, राजविराज १० स्थित श्रृजना सेकेण्ड्री बोर्डिङ्ग स्कुलको अनुमति अर्कै शाखामा देखिएको अधिकृत यादवले बताए ।
अनुमति बिनाका यी माथिल्लो कक्षालाई बन्द गर्न निर्देशन दिदैं उनीहरुबाट सहीछाप गराइएको अधिकृत यादवले बताएका छन् ।












