![]()
राजविराज । राजविराजस्थित मालपोत कार्यालयमा कागजात राख्न समस्या उत्पन्न भएको छ । कार्यालयको चार वटा कोठा र कर्मचारी मिलन केन्द्रको कोठामा तामेली फाँट राखेको मालपोतलाई कागजात राख्न समस्या उत्पन्न भएको हो ।
कार्यालय प्रमुख भूपेन्द्र राईले कागजातले पाँच वटै कोठा भरिसकेको जानकारी दिए । ‘कोठाको कुना–कुना भरिसकेको छ’ उनले भने, ‘अब राख्ने ठाउँ छैन् ।’
कार्यालयको दोस्रो तल्लाको दुई कोठा, तेस्रो कोठाको दुई कोठा र कर्मचारी मिलन केन्द्रको कोठामा कागजात राख्दै आएको छ । तर, यी सबै कोठा भरिसकेको छ । अब कहाँ कागजात राख्ने भन्ने चिन्ता उत्पन्न भएको तामेली फाँट प्रमुख कदमलाल मण्डलले इग्रीन मधेशससँग बताए ।
उनका अनुसार कागजात खोज्न अहिले हम्मे–हम्मे परेको छ । ‘एउटा कागजात खोज्न धेरै समय लाग्ने गरेको छ’ उनले भने, ‘कोठाहरुमा ¥याक समेत नहुँदा अझ समस्या भएको छ ।’
¥याक हुँदा सजिलो तरिकाले कागजात खोज्न सकिने भन्दै मण्डलले जताततै कागजको पोको राखिएकाले समस्या भइरहेको बताए ।
कर्मचारी मिलन केन्द्रको भवनमा बिक्रम सम्वत् १९६८ देखि २०६३ सम्मका कागजातहरु राखिएका छन् । कार्यालयको चार वटा कोठामा २०६३ सालदेखि अहिलेसम्मका कागजात छन् ।
‘अहिले दैनिक रुपमा कागजात भर्दै आएको छ, तर राख्ने ठाउँ छैन्’ मण्डलले भने ।
भवन अभाव मात्रै छैन् यहाँ पानी चुहिने समस्या समेत छ । पानी चुहिएर कतिपय कागजात बिग्रिसकेको छ । कार्यालयको समयमा पानी पर्दा हतार–हतार तामेली फाँट खोलेर कागजात बचाउन जुटनुपरेको कर्मचारी बताउँछन् । पानीबाट कागजलाई जोगाउन कोठामा बाल्टिन राखिएको छ । ‘यो बाल्टिन पानी चुहिरहेको ठाउँमा राखेर कागज जोगाउने ग¥छौं’ उनले भने ।
बारलाई दिने भएपछि झन् समस्या
मालपोत कार्यालयलाई कागजात राख्न आफैं समस्या छ । त्यहीं भएर उसले कर्मचारी मिलन केन्द्रको भवनमा समेत कागजात राख्दै आएको छ ।
तर अहिले कर्मचारी मिलन केन्द्रको जग्गामा जिल्ला तथा उच्च बारको भवन बनाउन संघीय सरकारले चिठी लेखेको छ ।
जिल्ला प्रशासन कार्यालयको नाममा रहेको उक्त जग्गा बारको भवन बनाउन दिएको सूचना पाएपछि कागजात कहाँ राख्ने भन्ने चिन्ता थपिएको कार्यालय प्रमुख राईले बताए ।
‘यो बिषयमा सबै सरोकारबालाको ध्यान जानु जरुरी छ’ उनले भने, ‘राजनीतिक दलका नेता, पालिकाका प्रमुख सबैको चासोको बिषय बन्नुपर्छ ।’












