![]()
राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीले पत्रकार शाैरभ यादवमाथि सांघातिक हमला गर्नेलाई अबिलम्ब पक्राउ गर्न माग गरेको छ ।
नयाँ पत्रिका दैनिकका सप्तरी सम्वाददाता यादवमाथि शुक्रबार भएको सांघातिक हमलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महासंघले यस्तो माग गरेको हाे ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेट अगाडि आफ्ना सहकर्मीहरुसँग कुराकानी गरिरहेकाे बखत एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले पत्रकार यादवमाथि छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट यादवको दाहिने हातमा गहिरो घाउ बनेको छ । ती समूहले हेलमेटले समेत पत्रकार यादवको टाउकोमा प्रहार गरेका छन् । हमला गरे लगत्तै ती तीनै जना मोटरसाइकलमा चढेर तत्कालै फरार भएका छन् ।
पछिल्लो समय सप्तरीका पत्रकारहरुले विभिन्न अड्डाहरुकाे बेतिथी र सत्य सूचना जनता समक्ष पुर्याइरहेकै कारण यहाँका पत्रकार ‘स्वार्थ समुह’काे निशानामा परेकाे ठहर महासंघले गरेको छ । ‘यसरी दिनदहाडै एक जना पत्रकारमाथि सदरमुकाममा भएको यो घटनाको नेपाल पत्रकार महासंघ, शाखा सप्तरीले घोर भर्त्सना गर्दछ’ सह सचिव डम्बर राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारका साथै सर्वसाधारणको समेत सुरक्षा व्यवस्था मिलाउन र याे घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कार्वाहीको माग स्थानीय प्रशासनसँग गर्दछाैं ।’
विज्ञप्तिमा घटनामा संलग्न भएका प्रत्यक्ष र पराेक्ष, दुवैलाई अबिलम्ब पक्राउ गरी कार्वाहीको दायरामा ल्याउन माग गरिएको छ ।
नल्याए नेपाल पत्रकार महासंघ आन्दोलनमा उत्रिने विज्ञप्तिमा भनिएको छ । आक्रमणबाट घाईते भएका पत्रकार यादवको शिघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्तिमा भनिएको छ ।












