![]()
राजविराज । उच्च अदालत जनकपुर, राजविराज इजलास आजदेखि पूर्ण रुपमा संचालन हुँदैछ ।
अदालतले मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको छ ।
जेनजी आन्दोलनका क्रममा २४ भदौमा गरिएको तोडफोड र आगजनीपछि अदालतको कामकाज प्रभावित भएको थियो । २९ भदौबाट अदालतले बन्दीप्रत्यक्षीकरण, निवेदन दर्ता र सोको सुनुवाई मात्र गर्दै अन्य सेवा स्थगन गरेको थियो ।
अदालतले मंगलबार जारी गरेको सूचनामा नष्ट भएका मिसिल बाहेकका सेवा सुचारु गरिने जनाएको छ ।
आजबाट उच्च अदालत जनकपुर, राजविराज इजलास पूर्ण रुपमा संचालन हुने, आगजनी र तोडफोड समेतवाट नष्ट र क्षति भएका मुद्दा/रिट निवेदनका सम्बन्धमा विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२ वमोजिम हुने सूचनामा भनिएको छ ।
अविरल बर्षा, वाढीपहिरो र सार्वजनिक यातायात वन्द भई सर्वसाधारणको आवतजावतमा कठिनाई उत्पन्न भएको र सर्वोच्च अदालतको सफ्टवेयरमा समेत क्षति भई यस हप्ताको लागि साप्ताहिक पेशी सूची प्रकाशन गर्न नसकिएको कारण पुरक पेशी सूचि बाहेक आजदेखि २४ गते सम्मको नियमित पेशी सुनवाई नहुने भनिएको छ ।
नियमित मुद्दा पेशी र सुनुवाईको कार्य भने असोज २६ गतेवाट मात्र शुरु हुने र पूरक पेशी सूचीबाट सुनुवाई हुने रिट, अन्य निवेदनको सुनुवाई हुने सूचनामा उल्लेख छ ।
अदालतको सेवा स्थगन भएको अवधिमा मुद्दाका पक्षलाई तोकिएको म्याद/तारिखमा उपस्थित हुन नसक्नेका हकमा आजैदेखि उल्लिखित परिस्थितिले अदालतमा उपस्थित हुन नसकी म्याद/तारिख गुज्रन गएको कारण जनाई म्याद तारिख थामी पाउँ भनी उपस्थित भएमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५९ र मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २२५ वमोजिम गुज्रिएको म्याद/तारिख थाम्न थमाउन सकिने अदालतले भनेको छ ।
उल्लेखित अवधिमा मुद्दा गर्ने हदम्याद, म्याद तथा तारेख गुज्रिएको हकमा सम्मानित सर्वोच्च अदालतको बृहत पूर्ण इजलासबाट ०७६–च्भ्–०३९२ समेतको मुद्दामा मिति २०७७।२।१५ मा भएको आदेशसमेत बमोजिम आजदेखि बाटोको म्यादबाहेक ३० दिन भित्र अदालतमा उपस्थित हुन सकिने अदालतका रजिष्ट्रार लोकनाथ पराजुलीले जारी गरेको सूचनामा भनिएको छ ।













