![]()
राजविराज । प्रहरी कर्मचारीलाई गाली गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने व्यक्ति सिरहाको लहान नगरपालिका वडा नम्बर २४ घर भई हाल काठमाडौं किर्तिपुर नगरपालिका २ बस्ने ३८ बर्षीय मनोज मानव भनिने मनोज महतो छन् ।
सप्तरी प्रहरी प्रमुख एसपी गौतम केसीका अनुसार उनी आफूलाई पत्रकार भन्दै सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी डम्बरबहादुर पुरी र जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुममा खटिएका प्रहरी जवान आदर्श कुशवाहालाई फोनमा अपशब्द बोल्दै गालीगलौज र अभद्र व्यबहार गरेका हुन् ।
महतोलाई राजविराज नगरपालिका ५ बाट पक्राउ गरी अभद्र व्यबहार मुद्दामा जिल्ला प्रशासन कार्यलयबाट सात दिनको म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सप्तरी प्रहरीका अनुसार उनीबिरुद्ध यसअघि नै सात पाँच वटा मुद्दा चलेको पाइएको छ । इलाका प्रहरी कार्यालय लहान, सिरहामा एउटा, जिल्ला प्रहरी परिसर काठमाडौंमा दुई वटा र साइबर व्यूरोमा दुई वटा मुद्दा चलेको छ ।
साइबर व्यूरो मुद्दामा पक्राउ गरी उनलाई कार्वाही भएको, इलाका प्रहरी कार्यालय लहानमा केही सार्वजनिक अपराध मुद्दामा पक्राउ परी कार्वाही भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी पुरीले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंमा अभद्र व्यबहार मुद्दामा पक्राउ परी कार्वाही भएको र ज्यान सम्बन्धी कसुर, अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा पक्राउ परी कार्वाही भोगिसकेको प्रहरीको भनाई छ ।












