![]()
एस.के. शान
राजविराज । सप्तरीबाट एकै परिवारका काका–भतिजा चुनावी मैदानमा उत्रिएका छन् ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ निवासी ताराकान्त चौधरी र अमरकान्त चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदबारी दर्ता गराएका छन् । ताराकान्त काका हुन् भने अमरकान्त भतिजा ।
तारकान्तले नेकपा एमालेबाट उम्मेदबारी दिँदा अमरकान्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदबारी दिएका छन् । यो दुबैले क्षेत्र नम्बर ३ बाट उम्मेदबारी दिएका छन् ।
अमरकान्त ताराकान्तका जेठो दाजु चन्द्रकान्तका छोरा हुन् । दुबै आफूहरु नै जित्ने र एकै परिवारका दुईको उम्मेदबारीले कुनै फरक नपर्ने दावी गर्छन् ।
ताराकान्त २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेबाटै निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा पनि उनी उम्मेदबार बने । उक्त निर्वाचनमा ताराकान्तका दाजु चन्द्रकान्त पनि उम्मेदबार बनेका थिए तत्कालिन राष्ट्रिय जनता पार्टी (राजापा) बाट । तारकान्त पराजित भए र चन्द्रकान्तले जीत हात पारेका थिए ।
चन्द्रकान्तको गत २६ पुसमा निधन भयो । पिताको क्रिया बसेकै अवस्थामा अमरकान्तले ६ माघमा उम्मेदबारी दर्ता गराएका छन् । अमरकान्त भन्छन्, ‘नयाँ नेपाल बनाउन आफू उम्मेदबार बनेको हुँ ।’
काका भन्छन्–लड्दिनँ भन्ने मान्छे एक्कासी उम्मेदबारी दर्ता गराए
तारकान्त अमरकान्त एक्कासी उम्मेदबारी दिएको बताउँछन् । ‘उम्मेदबारी दर्ता गराउने अघिल्लो दिनको राति १२ बजेसम्म पनि म उम्मेदबार नबन्ने व्यक्तिले एक्कासी उम्मेदबारी दर्ता गराएको छ’ उनी भन्छन्, ‘आठ बर्षअघि दाजुले जुन काम गर्नुभएको थियो, त्यो अहिले भतिजोले गरेका छन् ।’
ताराकान्तका अनुसार २०७४ को चुनावमा जेठो दाजु चन्द्रकान्तले चुनाव लड्दिनँ, तिमीलाई सहयोग गर्छु भन्नुभएको थियो’ उनी सम्झन्छन्, ‘तर दाजु एक्कासी उम्मेदबार बन्नुभयो ।’
अहिले उहाँको छोराले पनि त्यसै गरेको उनी बताउँछन् । ‘अमरकान्तले पनि उम्मेदबारी दर्ता गराउने दिन बिहानसम्म म उम्मेदबार नबन्ने बताएर पुनः उम्मेदबारी दिएका छन्’ उनले भने ।
‘यसपटक दाजु बितेपछि अस्ति भर्खर कर्म सकायौं । हामी दिनरात एक गरेर कर्म र भोज गर्यौं । सामानहरु आफैं बोकेर ल्याएँ । कर्मका निम्ति सबै थोक व्यवस्थित गरिदिएको थिएँ’ उनी भन्छन्, ‘राति ११ बजेसम्म भतिजाले जो आएपनि म चुनाव लडदिनँ भनेका थिए । बिहान पनि त्यहीं कुरा भने, तर उम्मेदबारी दिए ।’
ताराकान्त भतिजाको उम्मेदबारीले खासै फरक नपार्ने बताउँछन् । ‘मलाई लाग्छ कुनै खास फरक पर्देन’ उनले भने, ‘किनभने उहाँ राजनीतिक मान्छे नै होइन् । उहाँको व्यबहार क्षेत्रभरिका मान्छेलाई थाहा छ । जसले जतिखेर जे भन्छ त्यसमै उठिहाल्ने यो चरित्र त राम्रो भएन ?’
तारकान्तले अमरकान्तलाई राजनीतिक ज्ञान समेत नभएको बताउँछन् ।
भतिजा भन्छन्–नयाँ नेपाल बनाउन उम्मेदबारी दिएँ
ताराकन्तका भतिजा अमरकान्त यसअघि २०७९ को चुनावमा डाक्नेश्वरी नगरपालिकाको मेयर पदमा उम्मेदबारी दिएका थिए लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट । तर पराजित भएका थिए ।
अमरकान्त भन्छन्, ‘यो भन्दा अघि २०७४ को चुनावमा पनि बुवा र अंकल दुबै लड्नुभएको थियो । अहिले म लडेको छु ।’
उनले अंकललाई उम्मेदबारी नदिने सम्बन्धमा त्यस्तो कुनै वचन नदिएको दाबी गरे ।
अंकलले उम्मेदबारी दिएपनि आफूलाई कुनै फरक नपार्ने उनी बताउँछन् । ‘यसले मलाई पनि कुनै प्रभाव पार्देन्’ उनी भन्छन्, ‘युवाले नयाँ नेपाल बनाउँछ त्यसका लागि म लागेको छु ।’












