राजविराज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि निर्वाचन सप्तरीमा कार्यालयहरु स्थापना भएको छ । सदरमुकाम राजविराजमा क्षेत्र नम्बर २ को समेत हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने समय नजिकिएसँगै जिल्ला अदालत सप्तरीका मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले बताए ।
मुख्य निर्वाचन अधिकृतको रुपमा जिल्ला अदालतका मुख्य न्यायाधीश हेमन्त रावल रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना गरिएको निर्वाचन अधिकारी जोशीले बताए । ४ निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले क्षेत्र नम्बर–२ हेर्ने जिम्मेवारी तोकिएको छ ।
निर्वाचन क्षेत्र नम्बर–१ को कार्यालय सर्वोदय माविमा स्थापना गरिएको छ । त्यस्तै निर्वाचन क्षेत्र नम्वर ३ को शम्भुनाथ नगरपालिकाको वडा नम्वर ७ को वडा कार्यालयमा स्थापन गरिएको छ, भने निर्वाचन क्षेत्र नम्वर ४ को कार्यालय खडक नगरपालिकाको कार्यालयमा स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी जोशीले बताए ।