मधेश सम्वाददाता
राजविराज, ७ बैशाख ।
कोशी सम्झौता गरेको भारत सरकारले नहर डिलको बाटो निर्माण गर्न ध्यान नदिएको भन्दै सप्तरीको सिमावर्ती क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका छन् ।
कोशी पश्चिमी नहरको डिल भएर निर्माण गरिएको बाटो दिनप्रतिदिन जिर्ण बन्दै गएको र धूलो तथा हिलोका कारण जनजीवन प्रभावित भइरहेको भन्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ का बासिन्दाले बुधबार बिहान प्रदर्शन गरेका हुन् ।
वडा अध्यक्ष उमेश यादवको अगुवाईमा उनीहरुले प्लेकार्डसहित नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । मंगलबार राति भएको बर्षाका कारण यो सडक हिलाम्य बनेको छ । यहीं हिलाम्य सडकमा उनीहरुले प्रदर्शन गर्दै कोशी सम्झौता खारेजको माग गरेका छन् । ‘या त यो बाटो निर्माण गरियोस्, या त सम्झौता नै खारेज गरियोस्’ वडा अध्यक्ष यादवले भने, ‘सम्झौता अनुरुप सडक बनाउने काम भारत सरकारको हो । तर बनाइरहेको छैन् ।’
उनले बरु सम्झौता खारेज गरिदिए आफूहरु नै मिलेर सडक बनाउने बताए । ‘गर्मीमा धूलो र बर्षामा हिलोका कारण हामीलाई समस्या भइरहेको छ’ वडा अध्यक्ष यादवले भने, ‘धूलोका कारण गाउँका मानिस बिरामी हुन थालेका छन् ।’
स्थानीय सडक मर्मतको माग गर्दै प्रदर्शन गरिरहँदा पुगेका प्रदेश सांसद विदेश्वर यादव ‘विक्की’ ले यसबारे नेपाल तथा भारतीय अधिकारीसँग कुरा गर्ने बताएपछि उनीहरुले आन्दोलन टुँग्याएका छन् ।
वडा अध्यक्ष यादवले चाँडै बाटो मर्मत गर्नेतर्फ ध्यान नदिइए आफूहरु चरणबद्ध आन्दोलनमा उत्रने बताए ।