राजविराज । जिल्ला प्रशासन कार्यालय, सप्तरीले सार्वजनिक विदाका दिन पनि तीन वटा सेवा प्रवाह गर्ने जनाएको छ ।
बैशाख १ गते (आज) देखि नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा विदाका दिन पनि दिइने प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार २०८० सालमा तोकिएका सार्वजनिक विदाका दिन पनि यी तीन वटा सेवा प्रदान गरिनेछ ।
प्रमुख जिल्ला अधिकारी थापाले बिहीबार जारी गरेको सूचनामा २०८० सालमा उभौली पर्व–चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), रक्षाबन्धन, श्रीकृष्ण जन्मष्टमी, घटस्थापना, क्रिसमस डे, उद्योली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा), ल्होसार, माघी पर्व÷माघे संक्रान्ति, सेनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, ईद, बकर ईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिव, अन्तराष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिन दिने सार्वजनिक विदामा पनि प्रशासन कार्यालयबाट यी सेवा दिइने उल्लेख छ ।