राजविराज । एक व्यक्तिलाई एक दिनमा खाना र खाजा खानुपर्दा कति रकमसम्म खर्च गर्नुपर्छ ? यसको सहज उत्तर हुन्छ खाना र खाजामा निर्भर गर्छ ।
सादा खाना खाए एक छाँकको खाजा र खाना वापत रु ५ सयदेखि ६ सय खर्च गर्नुपर्ने हुन्छ । माछा, मासु या केहि अन्य विशेष खाए रु एक हजारदेखि १५ सयसम्म खर्च हुन्छ खाजा र खानामा ।
तर, सप्तरीको एक पालिकाका जनप्रतिनिधीले भने झण्डै ९ हजार बराबरको खाजा र खाना खाएका छन् । यो रकम एक जना जनप्रतिनिधीले खाएको खाजा र खानाको खर्च हो ।
जिल्लाको बोदे बर्साइन नगरपालिकाका जनप्रतिनिधीले आ.ब. २०७७÷७८ को नगरसभामा यत्रो रकम बराबरको खाना र खाजा खाएको देखिन्छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा नगरसभामा सहभागी ५५ जना जनप्रतिनिधीको खाना र खाजाका लागि रु ४ लाख ७५ हजार ८ सय ८ खर्च भएको उल्लेख गरिएको छ । यसरी हेर्दा एक जनाले रु ८ हजार ६५२ बराबरको खाना र खाजा खाएका हुन् ।
दुई दिनसम्म गर सभा संचालन भएपनि एक जनाले यत्रो रकम बराबरको खाना र खाजा खान सक्दैनन् । ‘स्थानीय सरकार संचालन एने, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्छ’ महालेखाले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘कतिपय बिलहरुमा मिति र प्रयोजन समेत खुलेको देखिदैन भने नगरसभाको निमित्त मात्रै वा तयारी सहितको खर्च भएको खुल्ने प्रमाण पेश भएको छैन् ।’