राजविराज । सप्तरीका स्थानीय तहहरुले आ–आफ्नो पालिकामा रहेका दमकल २४ घण्टा नै चालकसहित संचालन गर्न सक्ने अवस्थामा राख्ने र आगलागीका घट्नामा प्रतिकार्यमा जुट्ने निर्णय भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । विपद्को समयमा दमकल तथा एम्बुलेन्स जस्ता सबारीसाधन उद्धार गर्ने स्थलसम्म पुग्ने बाटो नभएमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले सो बाटोलाई स्थानीय तह स्वयंवले वा सम्बन्धित सडक आयोजना कार्यालयले सबारीसाधन जाने योग्य बाटो निर्माण गर्ने व्यवस्था समयमै मिलाउने निर्णय बैठकले गरेको छ ।
बैठकले आगलागी तथा हाबाहुरीजस्ता विपद्को घट्ना हुन नदिन तथा न्यूनिकरण गर्न आवश्यक्ता अनुसार प्रतिकार्य योजना तयार गरी स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय लगायत अन्य सरोकारबालाले पूर्व तयारीका कार्यहरु गर्ने निर्णय पनि गरेको छ ।
यस्तै, स्थानीय तहहरुले विपद्जन्य घट्ना आगलागी, हाबाहुरीको प्रतिकार्यको लागि समन्वयात्मक रुपमा परिचालित हुने तथा जिल्ला विपद र स्थानीय विपद् समितिबीच सूचना आदानप्रदान गर्ने, जिल्ला व्यवस्थापन समिति तथा जिल्लास्थित सुरक्षा निकायको संयुक्त आयोजनामा स्थानीय तह तथा सरोकारबालाहरुको सहकार्यमा आगामी चैत १५ गते आगलागीजन्य विपद् सम्बन्धी कृत्रिम घट्ना अभ्यास तथा सो सम्बन्धी जनचेतनामूलक प्रदर्शनी संचालन गर्ने निर्णय भएको विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
उनका अनुसार बैठकले विपद् प्रतिकार्यका लागि आवश्यक राहत तथा उद्धारका सामग्रीको मौजुदा विवरण तयार गरी पठाउने, आगलागी, हाबाहुरी तथा चट्याङ तथा विपद्बाट घट्ना हुन नदिन रेडक्रस सोसाइटी र जिल्लास्थित गैर सरकारी संस्थाले समन्वयात्मक रुपमा सचेतनामूलक सामग्रीहरु राष्ट्रिय र स्थानीय भाषामा बिभिन्न संचार माध्यमबाट प्रशारण गर्न व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ ।
स्थानीय तहमा विपद् प्रतिकार्यका लागि स्वयंसेवक तयार गर्न जिल्ला विपद् व्यवस्थापन समिति मार्फत् स्थानीय तहसँगको सहकार्यमा इच्छुक प्रशिक्षार्थीलाई नेपाली सेना मार्फत् प्रशिक्षण संचालन गर्ने निर्णय पनि भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।