राजविराज । अहिलेकाभन्दा ठूला–ठूला भक्त हुन्थे भगवानका परापूर्वकालमा । ऋषिमुनीदेखि देबलोकका व्यक्तिहरु भगवानको असाध्यै भक्ति गर्थे । तर, एकान्त ठाउँमा त्याग र तपस्या गरेर । आफू दुःख गरेर तपस्या गर्नेहरु अरुलाई दुःख दिदैन्थे । धार्मिक इतिहासलाई हेर्ने हो भने यज्ञहरुको पनि आयोजना गरिँदा आफ्नो आवाजबाहेक कुनै किसिमको ध्वनीको प्रयोग गरिदैन्थ्यो । रामायण र महाभारत पढ्दा वा हेर्दा यो कुरा प्रष्ट हुन्छ ।
धार्मिक इतिहासले पनि अरुलाई दुःख नदिनु सन्देश दिएको हामीले बिर्सनुहुन्न । पछिल्लो समयमा घरमा पूजा गर्दा पनि आफ्नो परिवार मात्र होइन्, पुरै समाज मात्रै होइन्, जिल्लाबासीलाई नै सुनाउँछन् ‘म पूजा गरिरहेको छु’ भनेर । चर्काे स्वरमा माइक बजाउनैपर्छ भनेर कुन धर्म र इतिहासमा लेखिएको छ ?
भगवानको प्रार्थना त अन्तरआत्माले गर्ने हो । ठूला–ठूला माइक र साउण्ड बक्स राखेर चर्काे आवाजमा बजाउने र म पूजा, पुरान र यज्ञ गरिरहेको छु भनेर देखाउने भक्ति हो या आडम्बर ? आखिर पूजापाठ त गरीबको घरमा पनि हुन्छ नि ! तर खोई यत्रो आडम्बर उनीहरुको घरमा त देखिदैन् । यहाँ जो जति धनी छन् त्यत्ति ध्वनी प्रदूषण गर्न अग्रणी भूमिकामा देखिएका छन् । पूजापाठ, यज्ञ, पुरान अन्य ठाउँमा पनि हुन्छ । तर उपस्थित भएका व्यक्ति मात्रै सुन्ने गरी साउण्ड बजाइएको हुन्छ ।
पूजापाठ, हवन, किर्तन पुण्यको काम हो । त्यहीं पुण्यको काम गर्नका निम्ति हामी यस्ता कार्यक्रमको आयोजना ग¥छौं । तर, अरुलाई दुःख दिएर पुण्य कमाउन सकिन्छ त ? पक्कै सकिदैन् । तपाईंले गर्ने कामबाट दुःखी भएर गाली गरे, श्राप दिए त्यो काम पुण्य नभई पाप हुन्छ । हो, भजनकिर्तन सुन्न नमिठो लाग्ने होइन् चाखलाग्दो नै हुन्छ । मन प्रसन्न हुन्छ । तर, मधुरो स्वरमा ।
राजविराजमा एकाबिहानै मस्जिदहरुमा चर्काे स्वरमा साउण्ड बजाउने गरिन्छ । के चर्काे आवाजमा साउण्ड बजाएपछि अल्लाह खुशी हुन्छन त ?
एकै ठाउँमा धेरै साउण्ड सिस्टम राखेर आम मानिसको स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने गरी चर्काे स्वरमा बजाइए कसैका लागि हितकर हुँदैन् । हाम्रै एउटा प्रसिद्ध टुक्का छ नि–‘बढी चिनी तितो हुन्छ ।’ आखिर कम आवाजमा सुनिने गीत र चर्काे स्वरमा सुनिने गीतमा फरक त अवश्य नै हुन्छ ।
राजनीतिक दलहरुले पनि कार्यक्रमको आयोजना गर्दा चर्काे साउण्डको प्रयोग गरिरहेका छन् सप्तरीमा ।
अब कुरा गरौं ध्वनी प्रदूषणले हुने खराबीको । ध्वनी प्रदूषणले धार्मिक, सामाजिक केहि चिन्दैन् । यसले सिधै व्यक्तिको स्वास्थ्यमा नकारात्मक असर पार्छ । यसले व्यक्तिको मानसिक समस्यामा वृद्धि हुने, गर्भवती महिलाहरुमा गर्भ खेर जान सक्ने समस्या देखिएको छ । मुटु रोगीहरुमा समस्या, कान सुन्न सक्ने क्षमतामा कमी आउनेसहितका समस्या देखिने चिकित्सकहरुले बताइसकेका छन् । अनि पुण्यको काम भनेर हामीले अरुलाई दुःख दिइरहेका छौं कि छैनौं ? आफैं मनन गर्नु आवश्यक छ ।
अब यसको कानुनी बाटोबारे चर्चा गरौं । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा ११२ मा वातावरण प्रदुषित गर्न नहुने व्यवस्था रहेको र सोही दफाको उपदफा (२) मा अधिकार प्राप्त अधिकारीको इजाजत बिना यान्त्रिक साधनबाट ध्वनी, रेडियोधर्मी विकिरण वा जाखिमपूर्ण फोहोरमैलाको उत्पादन, प्रशारण ओसारपसार गर्न वा थुपार्न नहुने भनिएको छ । सोही दफाको उपदफा (४) मा यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई ५ बर्षसम्म कैद वा ५० हजारसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
अर्थात् हाम्रो देशको कानुनले समेत ध्वनी प्रदुषणलाई बर्जित गरेको छ । राजविराजको हकमा भन्ने हो भने तत्कालिन पुनरावेदन अदालत (अहिलेको उच्च अदालत) ले ध्वनी प्रदुषण रोक्न जिल्ला प्रशासन, जिल्ला प्रहरी र राजविराज नगरपालिकाको नाममा आदेश दिइसकेको छ । अदालतको आदेश हुँदाहुँदै पनि सम्बन्धित निकाय यसतर्फ गम्भीर बन्न नसक्दा समाजमा रोगीको संख्या बढ्दै गएको छ । ध्वनी प्रदुषणलाई रोक्न मधेश प्रदेश सरकारले सबै पालिकालाई पत्राचार समेत गरिसकेको छ । अब पालिका प्रमुखहरुले यसतर्फ ध्यान दिनु नितान्त आवश्यक छ ।