राजविराज । ध्वनी प्रदूषणको अत्यधिक जनगुनासो बढेपछि मधेश प्रदेश सरकारले यसलाई नियन्त्रण गर्न सबै पालिकालाई पत्राचार गरेको छ ।
सप्तरीसहित मधेशका जिल्लामा ठूला आवाजमा बजाइने डिजे र साउण्ड सिस्टमले ध्वनी प्रदूषण भई स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको भन्दै यसलाई रोक्न प्रदेशभरिका सबै पालिकालाई बुधबार नै पत्राचार गरिएको छ ।
प्रदेशको गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षातमा मंगलबार बसेको सुरक्षा समितिको बैठकले ध्वनी प्रदुषण सम्बन्धमा जनगुनासोहरु आइरहेको हुँदा सो कार्यलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयलाई कार्यान्वयन गराउन बुधबार सबै पालिका र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ । सप्तरीका सबै १८ पालिकासहित मधेशका पालिकामा बुधबार पत्र आइसकेको छ । तर, पालिका प्रमुखहरु जुर्मुराएका छैनन् ।
अहिले सप्तरी सदरमुकाम राजविराजको चौतर्फी ध्वनी प्रदूषणले यहाँको जनवजीवन आक्रान्त बनेको छ । चारैतिर अत्यधिक साउण्डका कारण मानसिक, मुटु, कान सम्बन्धी रोगी बढ्दै गएका छन् विद्यार्थीले पढ्न पाइरहेका छैनन् । अन्य व्यक्तिले पनि आफ्नो काम राम्रोसँग गर्न पाइरहेका छैनन् ।
समग्र समाजलाई नै प्रभावित पारिरहेको ध्वनी प्रदूषण नियन्त्रण गर्ने प्रमुख कर्तव्य स्थानीय सरकारको हो । तर स्थानीय सरकारका प्रमुखहरु यसलाई चासोको रुपमा अझै लिएका छैनन् ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा स्थानीय सरकार यसलाई नियन्त्रण गर्न अघि बढ्नुपर्ने बताउँछन् । ‘यो जिम्मेबारी स्थानीय सरकारकै हो’ उनले भने, ‘हामी सहयोग गर्न तयार छौं ।’
हिजो पनि जनसरोकारका सवालमा सहयोग गरेको र आज पनि स्थानीय सरकारलाई प्रहरी प्रशासन सहयोग गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी थापाले बताए । ईग्रीन मधेशससँग कुरा गर्दै उनले भने, ‘तर, अगाडि त स्थानीय सरकारलाई बढ्नुप¥यो नि !’