४ कार्तिक, सप्तरी । सप्तरीको राजगढ गाउपालिका –६ कि सवाना खातुनलाई ३ कार्तिकको दिउँसो एक्कासी पेट दुख्न थाल्यो । दुखाई बढ्दै गएपछि उनलाई परिवारका सदस्यले साँझतिर राजविराजस्थित युनिक सिटी अस्पताल पुर्याए ।
युनिक सिटी अस्पतालमै दुई बर्ष अघि चिकित्सकले अप्रेशन गरेर बच्चा जन्मिएकाे थियो । राजगढ गाउँपालिका वडा नम्बर ६ फैकरा टाेल निवासी ३० बर्षीया सवाना खातुनलाई आईतवार नर्मल डिलेभरी गराईएको हो । उनी दोश्रो सन्तानका रुपमा छोरी पाएकी छिन् ।
खातुनले दुई बर्ष अघि पहिलो सन्तान जन्माउँदा उनलाई अप्रेसन गर्नु परेको थियो । पहिलो सन्तान गर्भमै रहँदा बच्चाको मुखमा मैला छिरेपछि उनको अप्रेसन गरी बच्चा निकालिएकोले दोश्रो सन्तान पनि अप्रेसन गरेरै जन्मिने उनको परिवारजनले अपेक्षा राखेका थिए ।
परिवारजनले अप्रेसनको अपेक्षा राखेपनि शनिवार साँझ व्यथा लागेर अस्पताल भर्ना भएकी खातुनलाई नर्मल डिलेभरी गराउन सफल भएको अस्पतालका स्त्री तथा प्रसुती विशेषज्ञ डा. उमेशचन्द्र झाले जानकारी दिए ।
‘पहिलो सन्तान अप्रेसन गरेर जन्मिएपछि दोश्रोमा पनि अप्रेसन नै गर्नुपर्ने मान्यता सबैले राख्ने गरेका छन् । यस्तोमा चिकित्सकहरुले पनि रिक्स लिन चाहँदैनन्’ उनले भने, ‘प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ ।’
खातुनको नर्मल डिलेभरी भएपछि सासु सब्रुल खातुन खुशी भएकी छिन् । बुहारीलाई अप्रेसन गराउन यस अस्पतालमा ल्याएको तर, चिकित्सकहरुको प्रयासबाट नर्मल रुपमा बच्चा जन्मिएपछि आफ्नो परिवारजन खुशी हुँदै चिकित्सकलाई धन्यवाद दिएका छन् ।
एक बर्ष अघि पनि रुपनी गाउँपालिका वडा नम्बर ५ निवासी पुनिता देवी दासलाई दोश्रो बच्चा यसै अस्पतालमा नर्मल भएको चिकित्सक झाले सुनाए । उनले दासको पनि पहिलो सन्तान अप्रेसन गरेरै भएको दोश्रोमा पनि अप्रेसन गनुपर्ने अनुमान गरिएकोमा हाम्रो प्रयासबाट दोश्रो सन्तान नर्मल नै भएको डा. झाले जानकारी दिए ।