राजविराज । संघीय सरकारका पूर्व राज्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता चन्द्रकान्त चौधरी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गरेका छन् ।
चौधरीले बिहीबार लोसपाबाट राजिनामा दिदैं राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेको बताएका छन् । चौधरी २०७० सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित भएका थिए ।
चौधरीसँगै नागरिक उन्मुक्ति पार्टीका नेताहरु पनि मुक्ति क्रान्तिमा प्रवेश गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ नेता योगेन्द्र घिसिङ, बागमती प्रदेश समितिका अध्यक्ष दल बहादुर तामाङ, केन्द्रीय सचिवालय सदस्य ओम प्रकाश चौधरी मुक्ति क्रान्ति नेपालमा समाहित भएको नेता केशव झाले जानकारी दिए । यसमध्ये घिसिङ ललितपुरबाट निर्वाचित संविधानसभा सदस्य समेत हुन् ।
झाका अनुसार यस्तै, जनजाति कल्याण आश्रम नेपालका केन्द्रीय महासचिव प्रेम प्रसाद राई आफ्ना दर्जनौं समर्थक सहित पार्टीमा समाहित भएका छन ।
नवप्रवेशीलाई पार्टी अध्यक्ष राजेन्द्र महतोले खादामाला लगाई स्वागत गरे ।