राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका एक व्यक्तिको घरबाट नगद चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ४ बस्ने २३ बर्षीय देबेन्द्र मुखिया रहेको प्रहरीले जनाएको छ ।
मुखिया छिन्नमस्ता गाउँपालिका ३ सखडा बस्ने भागेन्द्र साफीको घरबाट नगद रु १ लाख ३० हजार चोरी गरी भागेको प्रहरीको भनाई छ । साफीकी पत्नी सुनिता देवी आँगनमा काम गरिरहेको मौका छोपेर मुखिया कोठा प्रवेश गरी बाकसबाट रु १ लाख ३० हजार चोरी गरी भागेका थिए ।
जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले मुखियालाई नियन्त्रणमा लिई खानतलासी गर्दा ९९ हजार ८५५ रुपैयाँ बरामद भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
मुखियाबिरुद्ध चोरी मुद्दामा सप्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।