राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका शिक्षकले शुरु गरेको आन्दोलनलाई निरन्तरता दिएका छन् ।
तलव माग्दै नगरपालिकाको कार्यालय अगाडि धर्ना दिन शुरु गरेका उनीहरुले मंगलबार तेस्रो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।
गत साउन महिनादेखि हालसम्म पनि तलव नदिएपछि उनीहरु विद्यालय बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिन शुरु गरेका छन् । महत्वपूर्ण चाडको समयमा समेत तलव उपलब्ध नगराएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको शिक्षक राज नारायण यादवले बताए ।
तलव माग्दै शिक्षक आन्दोलनमा उत्रेपछि नगरपालिकाभित्रका ३० विद्यालयको पठनपाठन तीन दिनदेखि अवरुद्ध रहेको छ । शिक्षकको आन्दोलनका कारण ७ हजार ८७३ विद्यार्थी पढ्नबाट बंचित भएका छन् ।
मंगलबार शिक्षकको धर्नास्थलमा गएर नगरपालिकाका उप प्रमुख सरिता सिपलिया यादवले छठ पर्वसम्म तलव उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् । तर, लिखित प्रतिबद्धता नजनाएकाले आन्दोलन नरोकिएको शिक्षक यादवले बताए ।