गंगा साह
भारदह । सप्तरीमा बिना अनुमति संचालन गर्दै आएको दुई वटा निजि विद्यालय बन्द गराइएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा संचालित बिना अनुमतिका दुई निजी विद्यालय बन्द गराइएको हो ।
जिल्ला शिक्षा समन्वय इकाईको अगुवाइमा नगरपालिकाका प्रमुख बिरेन्द्र माझी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जितेन्द्र पासवान सहितकाे टाेलीले दुई विद्यालय बन्द गराएको हो ।
नगरपालिकाको वडा नम्बर ५ स्थित आनन्द निजी शैक्षिक गुठी र वडा नम्बर ७ स्थित आरपी मेमोरियल स्कुल बन्द गराइएको छ ।
यी दुबै विद्यालयले कक्षा १ को अनुमति लिएर ८ सम्म संचालन गर्दै आएको पाइएको शिक्षा समन्वय प्रमुख शशी यादवले जानकारी दिए ।
उनका अनुसार उच्च अदालत जनकपुर, राजविराज इजलासले १९ बैशाखमा अनुमति पाएको भन्दा माथिल्लो कक्षामा भर्ना नगर्न अन्तरिम आदेश दिएपछि बन्द गराउनुपरेको बताए ।
अदालतको यस्तो आदेश आएपछि हामीले बन्द गराउन पत्राचार गरेपनि नमान्दा बन्द गराएको उनले बताए ।
आगामी दिनमा अनुमति पाएको भन्दा बढी कक्षा संचालन गरे शिक्षा एन अनुसार कार्वाहीको भागिदार बन्ने भन्दै ती विद्यालय संचालकले सहीछाप समेत गरेको यादवले बताए ।
शिक्षा समन्वय प्रमुख यादवले अनुमति नपाएर पनि संचालन हुँदै आएको विद्यालयलाई बन्द गर्न आग्रह गरिसकिएको र बन्द नगरेको पाइए बन्द गराउँदै शिक्षा ऐन अनुसार कार्वाहीको दायरामा ल्याइने बताए ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले अनुमति पाएको भन्दा माथिल्लो कक्षा संचालन गरेको पाइए कानुन बमाेजिम कार्वाहीको प्रक्रिया अगाडि बढाउने बताए ।