![]()
राजविराज । सप्तरीमा सडक निर्माणको ठेक्का लिएर काम नगर्ने दुई निर्माण कम्पनीसँग अन्तिम पटकका लागि सात दिने स्पष्टिकरण मागिएको छ । सडक डिभिजन कार्यालय लहानले पत्रिकामा ठेक्का किन नतोड्ने ? सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै ती निर्माण कम्पनीसँग सार्वजनिक रुपमै स्पष्टिकरण माग गरेको हो ।
साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरी र ड्रामा–सम्झना जेभी सातदोबाटो काठमाडौंलाई ७ दिनभित्र स्पष्टिकरण बुझाउन कार्यालयले भनेको छ ।
साह इन्जिनियरिङ्ग कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीले राजविराज–हनुमाननगर–भारदह र रुपनी–राजविराज–छिन्नमस्ता सडक निर्माणको ठेक्का लिएको छ ।
ड्रामा–सम्झना जेभी सातदोबाटो काठमाडौंले सप्तरीको रुपनी–राजविराज–छिन्नमस्ता सडक निर्माणको जिम्मा लिएको छ ।
यस डिभिजन अन्तर्गत तपसिलका योजनाहरुको निर्माण कार्य सम्पन्न गर्नको लागि बारम्बार मौखिक तथा लिखित ताकेता भएको तथा जनप्रतिनिधि र स्थानीयबासीहरुले पनि बारम्बार यस डिभिजनमा समय भित्र निर्माण कार्य गराउन ताकेता गरि अल्टिमेटम समेत दिएकोमा खरीद सम्झौताको स्कोप बमोजिमका काम नगरी ठेक्का अलपत्र छाडेको अवस्था रहेको सूचनामा भनिएको छ । ‘ठेक्काहरुको पटक–पटक म्याद थप भए पनि समयमा निर्माण कार्य सम्पन्न गर्ने तर्फ निर्माण व्यवसायीबाट कुनै चासो नदेखाएको÷प्रयास नगरेको देखिएकोले सार्वजनिक खरीद ऐन २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८ को उपनियम (२) को खण्ड (घ) र तालिकामा उल्लेखित ठेक्का सम्झौताको जिसीसी क्लौजमा प्रावधान भए बमोजिम ठेक्का सम्झौता किन नतोड्ने ?’ सूचनामा भनिएको छ, ‘ठेक्का तोड्नुनपर्ने कुनै मनासीब कारण भएमा ७ (सात) दिनभित्र विश्वासनीय स्पष्टीकरण सहित यस डिभिजनमा स्वयं उपस्थित हुन अनुरोध छ ।’

अन्यथा यस सूचनालाई अन्तिम ताकेता मानी ठेक्का सम्झौताका शर्तहरु, प्रचलित ऐन नियम कानुन बमोजिम ठेक्का तोडी कालोसूचीमा राख्ने तथा नियमानुसार कार्यसम्पादन जमानत, अग्रिम भुक्तानी जमानत तथा धरौटी वापतको रकम जफत गर्नुको साथै बाँकी कार्य गर्न लाग्ने खर्च सरकारी बाँकी सरह मानी असुल उपर गर्ने तर्फ कारवाही अघि बढाईने चेतावनी सूचनामा दिइएको छ ।











