![]()
राजविराज । जिन्दगीमा कसलाई कतिखेर खराब स्थितिको पनि सामना गर्नुपर्दोरहेछ । जसलाई कसैले कल्पना समेत गरेका हुँदैनन् । यस्तै कहिले सोंच्दै नसोचेको स्थितिको सामना गर्न बाध्य भएका छन् सप्तरीका एक व्यक्ति ।
राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ निवासी रामजी रामको जिन्दगीमा एक्कासी यस्तो मोड आएको छ, जसका कारण उनलाई संसार नै अँध्यारो भइसकेको छ ।
अरु कारणले होइन उनको जीवनमा वास्तविक अँध्यारो नै छाएको छ । कारण, उनको दुई वटै आँखा गुमेको छ ।
उमेरले ८२ बर्ष पुगेका उनी शारीरिक रुपमा अस्वस्थ्य छैनन् । तैपनि सन्तानको सहारमा बाँच्न बाध्य छन् ।
झण्डै २५बर्षदेखि उनले आँखा देखिरहेका छैनन् । ‘विस्तारै आँखाको जेति कम हुँदै गयो, चिकित्सकसँग जाँच गराउँदा औषधि दिदैं ठीक हुन्छ भन्थ्यो’ उनी भन्छन्, ‘तर औषधिले काम गरेन, एक दिन एकै पटक दुबै आँखाको ज्योति गुम्यो ।’
आँखा गुमेकोमा उनी अति नै चिन्तित छन् । कारण, बूढेसकालमा उनले स्नातक पढ्न शुरु गरेका थिए । ‘२०६६/६७ तिर स्नातकमा नाम लेखाएर पढ्न शुरु गरिसकेको थिएँ’ उनी भन्छन्, ‘तर आँखाकै कारण स्नातक पूरा गर्न सकिनँ ।’
रामजी भारतको पंजाब गएर काम गर्ने गर्थे । युवावस्थादेखि नै पंजाब गएर श्रम गर्दै आएका उनले त्यहीं नै आँखा कमजोर हुँदै गएको अनुभूति गर्न थाले । ‘यस्तो अनुभूति भएपछि धेरै चिकित्सकसँग जाँच गराएँ’ उनी भन्छन्, ‘तर चिकित्सकले काला मोतियाबिन्द भएको छ भन्दै औषधि दियो, तर ठीक भएन् ।’
उनकी बुहारी फ्ुलोदेवीले लहानस्थित सगरमाथा आँखा अस्पताल लगेर जाँच गराउँदा पनि ठीक नभएको बताइन् । ‘त्यहाँ लग्दा चिकित्सकले दुबै आँखाको नशा सुकिसकेको र अब ठीक नहुने बताएपछि घरमै ल्याएर राखेको हुँ’ उनी भन्छिन्, ‘अहिले ससूराको देखभाल राम्रोसँग गरिरहेका छौं ।’
नागरिकता पाउने आश
रामजी राम लामो समय भारतको पंजावमा श्रम गरे । स्थानीयस्तरमा कुनै रोजगारी नपाउँदा परिवार र आफ्नो छाँक टार्न पंजाबमा काम गरे । त्यहीं क्रममा उनले नागरिकता बनाउन पाएनन् ।
अहिले उनी नागरिकता पाउने आशा राखेका छन् । ‘अब कति नै बाँच्छु र !’ उनी भन्छन्, ‘नागरिकता भए एउटा अभिलाषा पूरा हुन्थ्यो ।’
नागरिकता नपाउँदा रामजीले हालसम्म ज्येष्ठ नागरिक भत्ता समेत पाइरहेका छैनन् । उनी पंजाबमै भएको बेला २०६३ सालमा आएको टोली मार्फत् उनको छोरा बुहारीले नागरिकता पाएका थिए । एक पटक उनको नागरिकता बनाउने प्रकृया पनि शुरु भएको थियो । ‘तर बीचमै सेलायो’ रामजी भन्छन्, ‘अब नागरिकता भए खुशी हुन्थे ।’












