![]()
राजविराज । तोडफोड गरेको जाहेरी परेपछि लिखित माफी मागेको आधारमा छुटेका व्यक्ति पुनः तोडफोडमै संलग्न भएको पाइएको छ । प्रहरीमा लिखित क्षमायाचना गरेको तीन साताभित्रै ती व्यक्तिहरू पुनः तोडफोडमा संलग्न भएको पाइएको हो ।
राजविराज नगरपालिकामा यसअघि ८ जेठमा योजना शाखा प्रमुख मनोज यादवको नेतृत्वमा तोडफोड भएको थियोे । त्यसबेला नगरपालिकाका कावा मेयर इसरत परबिनले जिल्ला प्रहरी कार्यालयमा तोडफोड गर्नेविरुद्व जाहेरी दिएकी थिइन ।
परबिनले राजविराज नगरपालिका–१५ घर भएका योजना शाखा प्रमुख मनोजसहित राजविराज–१३ का गजेन्द्र यादव, राजविराज नगरपालिका–९ घर भएका सुधिर यादवसहित अन्य ४-५ जनाबिरुद्व सार्वजनिक भौतिक संरचनाको अनाधिकृत कब्जा, विनाश एवं अपराधिक उपद्रबतर्फ कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।
जाहेरी परेपछि ११ जेठमा जिल्ला प्रहरी कार्यालयमा तीनै जनाले गल्ती स्विकार्दै अब उप्रान्त यस्तो गल्ती नगर्ने जनाउँदै लिखित हस्ताक्षर गरेका थिए ।
सम्झौता पत्रमा अब उप्रान्त कुनै किसिमको उपद्रब कार्य गरेमा कानुन बमोजिम कार्वाही हुने उल्लेख गरिएको छ ।
यी तीनै जनाले माफी मागेपछि परबिनले जाहेरी फिर्ता लिएकी थिइन ।
तर, मंगलबार निलम्बित मेयर भीमराज यादवकै नेतृत्वमा तोडफोड हुँदा गजेन्द्र र सुधीर नै अग्र स्थानमा थिए । अन्य व्यक्ति समेत तोडफोडमा संलग्न हुँदा यी दुई अग्रस्थानमा थिए । यी दुबैले तोडफोड गरेको भिडियो भाइरल बनेको छ ।
यी दुबैसहित झण्डै एक दर्जन व्यक्ति ढुँगा, लाठी लिएर सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएका छन् । यहीं समूहमा थिए राजविराज–९ का वडाअध्यक्ष जवाहर यादव पनि । उनले पनि नगरपालिकामा तोडफोड गरेको भिडियोमा देख्न सकिन्छ ।
गल्ती गर्नेलाई प्रहरीले माफी मागेकै आधारमा छुट दिने र त्यहीँ व्यक्ति पुनः तोडफोडमा सकृय हुनुले दण्डहिनता मौलाएको स्थानीयको भनाई छ ।



हेर्नुहोस् लिखित माफी मागेको पत्र













