राजविराज । नेपाली कांग्रेस (विपी) का अध्यक्ष सुशिलमान शेरचनले देशमा राजनीतिक परिवर्तन नभएसम्म विकास असम्भ रहेको बताएका छन् ।
सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शेरचनले देश र जनताको विकासका निम्ति राजनीतिक परिवर्तन हुनुपर्ने बताए ।
‘जबसम्म राजनीतिक परिवर्तन हुँदैन, तबसम्म देश र जनताको अवस्था दिनानुदिन खस्किदैं जान्छ’ उनले भने, ‘राजनीतिक परिवर्तनका निम्ति मत परिवर्तन गर्नु आवश्यक छ ।’
एउटै दल र नेतालाई पटक–पटक मत दिँदा उनीहरुले मतको दुरुपयोग गरेको भन्दै शेरचनले अब मत परिवर्तन गर्नुपर्ने बेला आइसकेको बताए । उनले आफ्नो पार्टी जनताको हितमा सदैव रहने बताए । आफूहरुको कुनै व्यक्तिगत स्वार्थ नरहेको भन्दै उनले देशलाई सुधार्ने र जनताको अवस्थामा परिवर्तन ल्याउनका निम्ति अवसर दिन आग्रह गरे ।
उनले देशको राजनीति परिवर्तनका लागि योग्य उम्मेदबारहरुलाई चुनावमा उभ्याएको भन्दै निर्वाचित गर्न आग्रह गरे ।
पार्टीका महामन्त्री देबेन्द्र पौडेलले विपीको सिद्धान्त र प्रजातान्त्रिक आन्दोलनलाई कांग्रेसले तौलेर खाएको आरोप लगाए । कुशासन र भ्रष्टाचारमा बदल्ने काम गरेको र विपिको विचारलाई लत्याएको उनले बताए ।