मधेश सम्वाददाता
राजविराज, ७ माघ ।
सरुवा भएर केहि दिनअघि मधेश प्रहरी प्रमुख प्रहरी नायव महानरीक्षक (डीआइजी) को रुपमा आएका बसन्तबहादुर कुँवरले शनिबार जिल्ला प्रहरी कार्यालय, सप्तरी र प्रहरी अस्पतालको निरीक्षण गरेका छन् ।
शनिबार बिहान जनकपुरधामबाट सप्तरी आएका डीआइजी कुँवरले जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै यहाँका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका छन् ।
कुँवरले कार्यालयको सम्पूर्ण शाखाहरुको निरीक्षण गरेको सप्तरी प्रहरीले जनाएको छ । कुँवरलाई सप्तरी प्रहरीका प्रमुख एसपी अविनारायण काफ्लेले जिल्लाको शान्ति सुरक्षा वस्तुगतस्थिति सम्बन्धी जानकारी गराएका थिए ।
त्यस क्रममा डीआइजी कुँवरले शान्ति सुरक्षाका साथै दोषीलाई कार्वाही र पीडितलाई न्याय दिलाउने सन्दर्भमा कुनै किसिमको सम्झौता नगर्न मातहतका सम्पूर्ण सिनियर प्रहरी अधिकृतलाई निर्देशन दिएका थिए ।
यस्तै, कुँवरले रुपनी गाउँपालिकास्थित मधेश प्रदेश प्रहरी अस्पतालको पनि निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा अस्पतालका निमित्त कार्यालय प्रमुख प्राविधिक प्रहरी नायव उपरीक्षक डा. प्रशंसा शाक्यले अस्पतालको स्वास्थ्य, प्रशासनिक ब्यवस्थापन, स्रोत साधनको ब्यवस्थापन तथा सिर्जनात्मक कार्य लगायतको बिषयमा जानकारी गराइन् ।
त्यस क्रममा डीआइजी कुँवरले अस्पतालमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरीले गर्नुपर्ने काम कारवाहीको वारेमा निर्देशन दिएका थिए ।