राजविराज । राजविराज नगरपालिकाको हटियाभित्र अतिक्रमण गरिएको जग्गालाई वैधता दिन कार्यवाहक मेयरले कार्यपालिकाको बैठकलाई उल्ट्याएपछि अन्य जनप्रतिनिधी आक्रोशित बनेका छन् ।
नगरपालिकाका १७ जना वडाअध्यक्ष र कार्यपालिका सदस्यले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै उक्त कार्यको बिरोध गरेका छन् ।
उनीहरुले नगरभित्रको अतिक्रमित जग्गालाई फिर्ता ल्याउने उद्देश्यका साथ कार्यपालिका बैठकबाट निर्णय गरेपनि कार्यबाहक मेयर इसरत परबिनले यसलाई उल्टाएको बताए । ‘उहाँ व्यक्तिगत स्वार्थका निम्ति यो कार्य गर्नुभएको छ’ पत्रकार सम्मेलनमा ८ नम्बर वडाका अध्यक्ष समेत रहेका नगरपालिकाका प्रबक्ता जयनारायण मण्डलले कार्यपालिकाको गत मंसिर २९ गतेको बैठकले हटियाभित्रको अतिक्रमित जग्गा खाली गर्ने सर्वसम्मतिले निर्णय गरेपछि उहाँले एक्लै यो निर्णय उल्टयाएको बताए ।
हटियिाभित्र निर्माण भइरहेको गिलेसनको चारैतिर पहिला नै नाला निर्माण गर्न परबिनले निर्णय उल्टयाउँदै सघन शहरी कार्यालयलाई पत्राचार गर्न लगाएको उनले बताए । ‘यसले अतिक्रमित जग्गा व्यक्तिकै रहन्छ’ वडा नम्बर २ का अध्यक्ष अरुण यादवले भने, ‘पहिला अन्य काम गरेर नापजाँच गरी अतिक्रमित जग्गा फिर्ता आएपछि मात्रै नाला निर्माण गरिनुपर्छ ।’
वडा नम्बर ७ का अध्यक्ष सुभाष यादवले कार्यबाहक मेयरले मनोमानी गरिरहेका कारण आफूहरुलाई बिरोधमा उत्रनुपरेको बताए । हटियामा निर्मण भएको गिलेसन वरिपरी ४ मिटर जति जग्गा अतिक्रमित भएको छ’ उनले भने, ‘यसलाई वैद्यता दिन मिलेन् ।’
जनप्रतिनिधीले निर्णय नसच्याए आफूहरु चुप लागेर नबस्ने पत्रकार सम्मेलनमा बताए । उनीहरुले कानुन अनुसार अघि बढ्ने र सुनुवाई नभए आन्दोलनमा उत्रिनेसम्मको चेतावनी दिए ।
कार्यबाहक नगर प्रमुख परबिनले भने गिलेसन निर्माणको काम प्रभावित नहोस् भन्नका लागि यस्तो निर्णय गर्नुपरेको बताइन् । उनले ८ मिटर जग्गाको डिपिआर भएको भन्दै आफूले सोही अनुसार गरेको बताइन् ।