राजविराज । अनिल साह र भीम सार्कीको उत्कृष्ट व्याटिङको मद्दतमा क्यानडाबिरुद्धको एकदिवसीय क्रिकेट खेलमा नेपालले क्लीन स्वीप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नेपालले क्लीन स्वीप गरेको हो ।
नेपाललाई तेस्रो जीत दिलाउने क्रममा साह र सार्कीले शतकीय योगदान दिए ।
तेस्रो खेलमा क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४ ओभरमा ३ बलमा मात्र १ विकेट गुमाएर पूरा ग¥यो । नेपाललाई जीत दिलाउने क्रममा अनिल साहले ११२ रन र भीम सार्कीले १०१ रनको योगदान दिए । साहले १२३ बलको सामना गर्दै १२ चौका र २ छक्का प्रहार गरे ।
यस्तै, सार्कीले १२९ बल सामना गर्दै ११ चौका र १ छक्का प्रहार गरे ।
कुशल भुर्तेल १३ रन बनाएर पेभलियन फर्के । डिलोन हेलिगरले उनलाई बोल्ट आउट गरे ।
यसअघि टस हारेर व्याटिङ गरेको क्यानडा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो । उसका लागि नभनित ढालिवालले अर्धशतकीय पारी खेले । उनी ठ्याक्कै ५० रन बनाएर आउट भए । निखिल दत्तले ६२ बलमा ४५ रन बनाए ।
यस्तै, कप्तान साद बिन जाफर ३१ रन बनाइ अविजित रहे भने श्रीमान्था विजेयरत्ने २२, हर्ष ठाकेर २९, श्रेयास मोभ्भा २५ रनको योगदान दिए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका नेपालका हेमन्त धामीले ३ विकेट लिएर आफ्नो पहिलो खेललाई स्मरणीय बनाए । कुशल मल्लले २ विकेट लिँदा ललित राजवंशी र आकाश चन्दले १–१ विकेट लिए ।
यसअघि पहिलो खेल नेपाल ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।