राजविराज । सप्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य दिनेश कुमार यादवले क्षेत्रको विकासका लागि आफू तत्पर रहेको बताएका छन् ।
क्षेत्र नम्बर ३ अन्तर्गत राजगढ गाउँपालिकामा नयाँ बर्ष २०८१ सालको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यादवले उक्त कुरा बताएका हुन् । उनले आफ्नो पहलमा बिभिन्न योजना अगाडि ल्याइएको बताए । केहि योजना कार्यान्वयनको चरणमा रहेको र केहि कार्यान्वयन हुने तरखरमा रहेको उनको भनाई छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका यादवले शम्भुनाथ–बनैनियाँ सडक खण्ड निर्माण अघि बढिसकेको बताए ।
रुपनी बजारदेखि दक्षिणतर्फको सडकको टेण्डर भई काम समेत अघि बढिसकेको, कटैया, फकिरादेखि भारतीय सीमासम्मको सडकको कामको टेण्डर भएर काम अघि बढिसकेको उनले बताए ।
सांसद यादवले बर्षैदेखि अलपत्र रहेको पातो–कठौना सडकको निर्माण कार्य पनि अघि बढिसकेको बताउँदै चाँडै यस क्षेत्रका बासिन्दाले राम्रो सडक पाउने विश्वास व्यक्त गरे ।
राजगढ गाउँपालिकाको झुटकीस्थित माँ चन्द्रावती पोखरीमा बृक्षारोपणसहित सौन्दर्यीकरणका लागि वन मन्त्रीसँग कुराकानी भइसकेको र चाँडै काम अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।
‘जनताले जसरी मलाई जिताएका छन्’, त्यसरी नै कामलाई अगाडि बढाउँछु’ उनले भने, ‘यस क्षेत्रको विकासका लागि देशका सबै संयन्त्रसँग आवश्यक समन्वय र सहकार्य गर्दै आएको छु । र, गरिनै रहनेछु ।’
कार्यक्रममा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले नयाँ बर्षमा सकारात्मक र नयाँ किसिमले काम गर्न सबै एकजुट हुनुपर्ने बताए ।