राजविराज । साेमबार साँझ राजविराजमा बजार अनुगमन गरिएको छ । संयुक्त बजार अनुगमन टाेली खटिदा व्यापारीबीच भागाभागकाे स्थिति बनेको थियोे ।
साेमबार जिल्ला प्रशासन कार्यालयमक एक बैठक बसेको थियो । बैठकले बजार अनुगमन गर्ने निर्णय गरे लगतै सरोकारबाला अनुगमनमा खटिए ।
बजार अनुगमन गर्न टोली निस्के लगतै राजविराज ७ स्थित गोपाल एन्ड जेनेरल स्टोर र आरयुपी जेनेरल सफ्लायर्सका संचालक पसल बन्द गरेर निस्केका थिए । अनुगमन टोलीले शिल्बन्दी गर्ने चेतावनी दिएपछि उनीहरूले सटर खोलेका थिए ।
उनीहरुको पसलबाट बिल नभएका भारतीय सामानहरु बिक्री गरिरहेको पाइएपछि ती सामान नियन्त्रणमा लिइएको छ । बालबालिका लक्षुत बेच्न राखिएको विभिन्न चिप्स नियन्त्रणमा लिइएको छ ।
यस्तै, राजविराज ७ कै सिफा फ्रुट सेन्टर, अनिल किराना र राजविराज ६ स्थित सन्तोष किराना पसलको पनि अनुगमन गर्दा बिना बिलका भारतीय सामान बिक्री गरिरहेको पाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
उनका अनुसार भारतीय प्रतिबन्धित सामान, लेबल नभएको सामान र बिल नभएको सामान बिक्री गरेको पाइएपछि ती पसल संचालकलाई ५ हजारका दरले जरिवाना गरिएको छ ।
उनले भन्सार छलिएका विभिन्न सामान पसलेहरूले बेचिरहेकाे जनगुनासाे बढिरहेकाले यस्तो काम नगर्न सबैसङ अनुरोध गरे । प्रतिबन्धित सामान, लेबल नभएको सामान र बिल नभएको सामान बिक्री नगर्न भन्दै उनले यस्तो पाइए कानुन अनुसार कार्वाही गरिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रहरी प्रमुख गजुसिद्दी बज्राचार्य, सशस्त्र एसपी, अनुसन्धान एसपी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, राजविराज भन्सार कार्यालय, करदाता सेवा केन्द्र, नेपाल पत्रकार महासंघका प्रतिनिधिको सहभागिता थियो ।