![]()
राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा लागेको ताला खुलेको छ ।
मंगलबार वडा अध्यक्षसहितका जनप्रतिनिधी र स्थानीयहरुबीच सहमति भएपछि ताला खुलेको हो ।
स्थानीयहरुले मलखाद्यको व्यवस्था गर्नुपर्ने, वडा कार्यालयको आयव्यय सार्वजनिक गर्नुपर्नेसहितका माग राख्दै गत साउन ११ गते वडा कार्यालयमा ताला लगाएका थिए ।
स्थानीयहरुले गाउँपालिकाका उपाध्यक्ष राजु देवी यादवका पति तेजनरायणले आफ्नो निर्देशनमा वितरण गर्दै आएकोले सबैले पाउन नसकेको भन्दै विरोध जनाएका थिए ।
तालाबन्दीपछि पटक–पटक छलफलको आयोजना गरिएपनि उपाध्यक्षको सट्टा उनका पति तेजनारायण नै उपस्थित हुँदै आएपछि सहमति जुटन सकेको थिएन् ।
मंगलबार भएको छलफलका क्रममा तीन बुँदे सहमति भएपछि ताला खोलिएको छ ।
वडाको कोचाबखारी, खुदीबखारी र कुपही टोलबाट ५/५ जनाको समिति बनाई पारदर्शी तरिकाले मलखाद्य वितरण गर्ने र विगतमा बाँकी रहेको खुदीबखारीको मलखाद्य गाउँपालिका उपाध्यक्षबाट उपलब्ध गराउने निर्णय भएको छ ।
यस्तै, वडाको चार बर्षको सम्पूर्ण आय व्यय भदौ २५ गतेसम्म सार्वजनिक गर्ने र लगाइएको ताला खोल्ने सहमति भएको छ ।









