राजविराज । मधेश प्रदेशमा मादक पदार्थ (मापसे) र लागूपदार्थ सेवन (लापसे) गरेर सबारी चलाएको पाइए सिधै मुद्दा दर्ता हुने भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले मापसे र लापस गरी सबारी साधन चलाएको भेटिएमा प्रचलित कानुन अनुसार मुद्दा चलाउन मातहतका आठ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । कार्यालयका प्रबक्ता एसपी सुबासचन्द्र बोहराले यसबारे ८ वटै जिल्ला प्रहरी कार्यालयमा परिपत्र भइसकेको जानकारी दिए ।
मापसे/लापसे गी सबारी साधन चलाई दुर्घटनामा वृद्धि भएको जनगुनासो आएको साथै प्रहरी चेकिङको क्रममा त्यस्ता सबारी साधन पनि भेटिन थालेकाले यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’ प्रबक्ता बोहराले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अब उप्रान्त त्यस्ता किसिमका गतिविधी नियन्त्रणका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्दै प्रभावकारी रुपमा प्रहरी परिचालन गरी सबारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ११ जेठबाट लागू हुने गरी जुनसुकै किसिमका सबारी साधनका चालकहरुले मापसे/लापसे गरी सबारी चलाएको भेटिएमा वा दुर्घटना भए गराएमा प्रचलित कानुन अनुसार मुद्दा चलाई कार्वाही गरी सोको नतिजा यस कार्यालयमा दिन परिपत्र गरिएको छ ।’