राजविराज।
दुई पक्षको विवादका कारण सप्तरीको राजगढ गाउँपालिकामा लामो समयदेखि घेरबार गरिएको बाटो संचालनमा आएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ बेल्हीचपेनास्थित लबटोलियामा दुई पक्षको विवादका कारण बाटो नै घेरिएको थियो । ४५ परिवार बस्दै आएको उक्त टोलका बासिन्दालाई आफ्नो घर पुग्न धेरै घुमेर जानुपर्ने बाध्यता थियो ।
गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डल, वडाअध्यक्ष अशोक साह, समाजसेवाी तथा राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य गजेन्द्र कुमार मण्डलसहितको अगुवाईमा विवाद समाधान गरिएको छ ।
दुबै पक्षले आ–आफ्नो नम्बरी जग्गा भएको दाबीका साथ उक्त जग्गाको ५० मिटरजतिको भागमा टाटी लगाएर घेरवार नै गरेपछी सडक बनाउन समस्या भएको थियो ।
विवाद समाधानपछि दुबै पक्षले सडक निर्माणका लागि जग्गा छाड्ने सहमति गरेका छन् । सहमति लगत्तै ५० मिटर यो बाटोमा ढलान रोड बन्ने भएको छ ।
सोमबारै अध्यक्ष मण्डलले ढलान रोडको शिलान्यास गरेका छन् । ४ मिटर चौडाई र पाँच सय मिटर लम्बाईको आरसीसी ढलान रोड निर्माण गर्ने गरी उनले शिलान्यास गरेका छन् ।
शिलान्यास लगत्तै सडक निर्माणको काम समेत शुरु गरिएको अध्यक्ष मण्डलले जानकारी दिए ।