श्री कृष्णको कथा महिमा अपरम्पार छ । वहाँकै कथा अंश मध्ये मिथिला परम्परामा ब्याप्त सामा–चकेवा पर्व मनाउने चलन छ । सामा र साम्भ बहिनी–दाजु श्रीकृष्णको पटरानी जामवन्तीको कोखबाट जन्मेकी थिइन । सामाको विहे चकेवा (एउटा सामन्त) सित भएको थियो । कृष्ण पुत्री सामासित एउटा अर्काे सामन्त चुगला एकतर्फी प्रेम गर्दथे । चकेवा र सामा जोई–पोई सित ईष्या गर्दथे ।
सामा विहे पूर्व र पछि पनि घोर जंगलमा स्थित चारलुक्भ मुनिको आश्रम कुटीमा पूजा–अर्चना हेतु जाने गर्दथिन । चुगला सामाको आवागमनलाई बंग्याई श्रीकृष्णको कान भरे । मुनी र सामा सित जोडी रहेको झुठो कुरा कृष्णलाई सुनाए । सामाको चरित्र हत्या गरे ।
यसपछि श्रीकृष्ण रिसाएर सामालाई बोलाएर भने, ‘तिमी स्वर्ग जस्तो आफनो परिवार–गृहस्थी छोडी कहाँ मुनी र आश्रम कुटी तिर जाने गर्दछ्यौ । जा तिमि चरा बनेर जीवन विता ।’
यस पश्चात सामा पंक्षीमा परिणत भईन । पत्नी चरा पंक्षी भएपछि पति चकेवा मानसिक रुपले विक्षुप्त बने ।
दाजु÷भाई साम्भ उक्त ब्यथा बुझेपछि पिता श्री कृष्ण सित बहिनी सामालाई क्षमा गर्न प्रार्थना गरे । साथै चुगलाको मिथ्या कुरा पनि सुनाए । यसपछि कृष्णले कात्तिक शुक्ल प्रतिपदा देखी पूर्णिमा सम्म महिलाहरु सामा चकेवाको माटोको मुर्ती बनाई पुृजन गरेमा तिम्रो बहिनि श्राप मुक्त हुन्छिन । साथै बिना कारण तथ्यहिन आरोप लगाउने चुगलाको दाढीसहित मुर्ति बनाई आगो लगाई पोल्नुपर्दछ ।
साम्भले त्यसै गर्न लगाए । अनि सामालाई श्राप मुक्त गराए । सामा–चकेवा फेरी लोग्ने–स्वास्नी स्वरुप एकजुट भए ।
उपरोक्त कथा द्वारिका, मथुरा, गोकुल–बृन्दावन जहाँको भएपनि हाल मिथिलाको नारी समाजमा अझै पनि चलन–चल्तीमा छ । नारीहरु अहिले पनि सामा–चकेवाको सानो मूर्ति बनाई गित गाउँछिन, ‘सामा हे, चकेवा हे, जोतल खेत मे अईह हे, ढेला फोईर फोईर खैहँ हे । सामा हे चकेवा हे…
सामा–चकेवाको मुर्तीहरु बाँसको डालीमा पान–सुपारी, फलफुल मिष्ठान, पकवान सहित धान सहितका खेतहरुमा विर्सजित गर्ने गरिन्छ ।
सामा–चकेवाको मुर्तिकलाद्वारा प्रर्दशन नाटक मञ्चन र गीत पूजनबाट मनाईन्छ । यसले दाम्पत्य जीवनको प्रेम र दाजुभाई–दिदीबहिनीबीचको मायाको सन्देश सञ्चार गर्दछ । चुगली (कुरा लगाउनु) जस्ता दुष्टताको भत्र्सना गर्दछ । अन्ततः सत्य, माया, प्रितिको जय हुन्छ ।