राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहविरुद्धको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासमा मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । आज बहस पनि शुरु नभई मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ ।
नवनिर्वाचित अध्यक्षबिरुद्ध दुई वटा मुद्दा दर्ता भएको छ । उनीबिरुद्ध जर्वजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र अपहरण गरी व्यक्ति वेपत्ता गरेको सम्बन्धी जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।
जिल्ला सरकारी वकील कार्यालयका अनुसार प्रहरीले साहबिरुद्ध अपहरण र शरीर बन्धक मुद्दा चलाएको थियो । तर, सरकारी वकीलको कार्यालयले व्यक्ति वेपत्ताको मुद्दा चलाएको थियो ।
‘मान्छे कहाँ छ भन्ने थाहा छैन, लाश पनि फेला परेको छैन्, त्यहीं भएर व्यक्ति वेपत्ता मुद्दा चलाइएको छ’ सरकारी वकीलको कार्यालय श्रोतले भन्यो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका १ निवासी नवनिर्वाचित साहबिरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले मुद्दा दर्ता गरेको हो ।
साहबिरुद्ध बलात्कारको कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा २१९ (१) र (२) बमोजिमको कसुर गरेको भन्दै दफा २१९ (३) (ङ) बमोजिमको सजाय मागदाबी गरिएको छ । जअनुसार उनीवरुद्ध १० वर्षसम्मको कैद मागदाबी गरिएको छ ।
यस्तै सामूहिक बलात्कारमा १५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।
बलात्कृत युवतीको मृत्यु भएकाले कर्तव्य ज्यानको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ । जन्मकैदमा २५ वर्ष कैद हुने व्यवस्था छ । जसकारण बलात्कारपछि हत्यामा उनीविरुद्ध ४० वर्ष कैद साजय मागदाबी गरिएको छ ।
यसका साथै उनले अर्का एक व्यक्ति अपहरण गरी बेपत्ता पारेकाले अर्को मुद्दा पनि चलाइएको छ । मुलुकी फौजदारी अपराध संहिताको दफा २०६ (१) (२) (ख) र (६) बमोजिमको कसुर गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । यसमा दफा २०६ (७) (क) बमोजिम थप सजाय मागदाबी गरिएको छ ।
दफा २०६ (७) (क) अनुसार अपहरण गरी व्यक्ति बेपत्ता पार्नेलाई १५ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवाना हुने व्यवस्था छ । सोही अनुसार उनलाई अधिकतम सजाय मागदाबी गरिएको छ ।
साहले बेपत्ता पारेको आरोप लागेका नितिशकुमार साह नाबालक रहेकाले दफा २०६ (८) बमोजिम थप सजाय मागदाबी गरिएको छ । जसअनुसार दफा २०६ (७) (क) मा हुने सजायमा थप २ वर्ष कैद सजाय हुने दफा २०६ (८) मा उल्लेख छ । छुट्टाछुट्टै कसुरमा गरेर उनीमाथि ५७ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।
अपहरण गरी व्यक्ति बेपत्तामा वडाध्यक्ष साहसहित ६ जना र बलात्कारपछि हत्यामा उनीसहित ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नवनिर्वाचित वडा अध्यक्ष साह २० मंसिरमा शपथ लिँदै गर्दा पक्राउ परेका थिए ।
साह सहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको आरोप छ ।
फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी लगेको आरोप छ । नितिश अझैसम्म भेटाउन सकेका छैनन् ।