![]()
राजविराज । राजविराजमा आयोजना गरिएको अन्तर्राष्ट्रिय देव महासम्मेलन ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
राजविराजमा सम्पन्न भएको महासम्मेलनपछि जारी गरिएको घोषणा पत्रमा दलित, आदिवासी–जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति जस्तै अति अल्पसंख्यक देवजातिका लागि पनि छुट्टै आरक्षण प्रणाली लागू गर्न माग गरेको छ ।
देव जाति अति अल्पसंख्यक मध्ये रहेकाले राज्यका सबै तहमा समान अवसर र अधिकार सुनिश्चित गर्न नेपाल तथा भारत सरकारसँग समेत माग गरिएको छ ।
देव जातिलाई राष्ट्रिय जनगणनामा पृथक र स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने, शिक्षा, रोजगारी, प्राविधिक तालिम र स्वास्थ्य क्षेत्र लगायत सरकारी निकायमा देव जातिका लागि आरक्षण कोटा सुनिश्चित गर्नुपर्ने, सरकारी छात्रवृत्ति, सीप विकास तालिम, स्वरोजगार कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गरिएको छ ।
घोषणा पत्रमा देव जातिभित्र विद्यमान कुरीति, कुसंस्कार र विसङ्गतिहरू (जस्तै– दहेज प्रथा, वैवाहिक छोडपत्र, समगोत्री विवाह) आदिलाई पूर्णतः हटाउन सामूहिक संकल्प गरिएको उल्लेख छ ।
बालवालिकालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र संस्कार जीवनीमा प्रोत्साहित गरिने, देव जातिको मातृभाषा मैथिलीको सम्बद्र्धन र सम्मुनतिका लागि तत्कालै हरेक क्षेत्रबाट यथोचित प्रयास गर्ने, स्वजातीय संस्कार, लोक परम्परा, गीत– नृत्य तथा धार्मिक आस्बालाई संरक्षण र प्रवद्र्धन गर्ने दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने र थप आवश्यक सहयोगको लागि संघीय, प्रदेश तथा स्थानीय सरकार समेतलाई सिफारिस गर्ने निर्णय भएको घोषणा पत्रमा जनाइएको छ ।
आफ्नै सांस्कृतिक पर्व, नृत्य, गीत, रीतिरिवाजलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष कार्यक्रम सञ्चालन गरिने, देवजाति धर्म–आधारित सद्भाव, सहिष्णुता र मानवतावादको भावनालाई विश्वमा फैलाउने, नेपालमा मात्र नभई भारत लगायत अन्य मुलुकमा रहेका देवजाति समुदायसँग एकता, सहकार्य र ज्ञान– अनुभव आदानप्रदान गरिने, अन्तर्राष्ट्रिय मञ्चमा देव जातिको अधिकार र अस्तित्व उजागर गर्ने अभियान चलाइने, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, मानव अधिकार आयोग तथा विभिन्न विकास साझेदारसँग सहकार्य गरी देव जातिको उत्थानका लागि कार्यक्रम ल्याइने घोषणा पत्रमा उल्लेख छ ।
वागेश्वरी सेवा समिति राजविराज, भवानी सेवा समिति राजविराज, बिराट देव सेवा समिति
विराटनगर, झापा देव समाज झापा, देव समाज काठमाडौं र देव सेवा समिति काठमाडौंको संयुक्त आयोजनामा महासम्मेलनको आयोजना गरिएको थियो ।
असोज १७ देखि १९ गतेसम्म आयोजना गरिएको महासम्मेलनमा नेपालसहित भारतका देव समुदायहरुको समेत सहभागिता रहेको थियो ।












