![]()
राजविराज । कर्जा असुली कार्यमा खटिएका कर्मचारीलाई कालोमोसो दलेर जुत्ताको माला लगाउने दुई जना सप्तरीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका वडा नम्बर १ बस्ने ४७ बर्षीय उमाकान्त चौधरी र सोही नगरपालिकाको वडा नम्बर ७ बस्ने ५२ बर्षीय संजीबकुमार चौधरी छन् ।
कर्जा असुली गर्ने कार्यमा सप्तकोशी नगरपालिकामा २४ मंसिरमा खटिएका ज्योति विकास बैंक लिमिटेड कलष्टर कार्यालय बर्दिवासका कर्मचारी सुनित श्रेष्ठ र सबिन कुमार श्रेष्ठलाई सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिभित्र लगी कालोमासो दलेर जुत्ताको माला लगाइएको थियो ।
ती समूहले सुनित श्रेष्ठले हातमा लगाएको दश आनाको सुनको औंठी र सुनको सिक्री समेत लुटेर कुटपिट गरेका थिए । कालोमोसो दल्ने समूहले भिडिउो समेत बनाएका थिए ।
पक्राउ परेकाहरुबिरुद्ध अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरको मुद्दामा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उक्त घट्नामा सप्तकोशी नगरपालिकाका उप मेयरको पनि संलग्नता देखिएको छ । हाल उनी फरार रहेको प्रहरी श्रोतले जनाएको छ ।












